मंगलबार, १८ वैशाख २०८१

सडक निर्माणमा ध्यान नदिदा दुर्घटना बढ्योः सांसदहरु

समयपोष्ट २०७५ फागुन १८ गते १४:४३


सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो नै दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराएको छ । ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा सुदूरपश्चिमको पहाडी जिल्लामा सडक निर्माणको काम प्रभावकारी हुन नसक्दा दैनिकजसो नेपाली नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै उनीहरुले तत्काल सुधारको काम गर्न र कानूनीरुपमा कडा व्यवस्था गरी व्यावहारिक कार्यान्वयन गर्न माग गरे ।

बैठकको विशेष समयमा सांसदहरुले शुक्रबार दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको र एक गम्भीर घाइतेको उपचार भइरहेको सदनलाई जानकारी गराउँदै सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।

सांसद गणेशसिंह ठगुन्नाले निर्माण व्यवसायीको लापर्बाहीका कारण स्थानीय नागरिकले कष्टकर रुपमा यात्रा गर्न बाध्य भएको भन्दै समस्या समाधान गर्न माग गरे । उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको उपचारको प्रबन्ध गर्न र सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।

महाकाली राजमार्गअन्तर्गतको दार्चुला टिंकर सडकखण्ड विसं २०६४ देखि निर्माण शुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेको भन्दै स्थानीयवासी समस्यामा परेको र सदरमुकामबाट पाँच किलोमिटरको दूरीमा नै जीप दुर्घटनामा परेको सांसद ठगुन्नाको भनाइ छ ।

यस्तै सांसद दिलेन्द्रप्रसाद बडूले पनि दार्चुलामा जीप दुर्घटनामा परी ११ जनाको असामयिक निधन भएको भन्दै सडक निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको बताए।

उनले आफूले पटकपटक सो सडक निर्माणमा लापर्बाही भएको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएको भए पनि कहीँकतैबाट सुनुवाइ नभएको भन्दै गुनासो गरे ।

आर्थिक वर्ष २०७४/७५ को बजेटबाट सो सडकखण्डको निर्माण भइरहेको र चालू आवको बजेट कहिले प्राप्त हुने हो भन्दै सांसद बडूले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराए ।

उनले सडक निर्माणमा देखिएको समस्या समाधान गरी दुर्घटनारहित बनाउनुपर्ने र दोषी देखिएका जो कोहीलाई पनि कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताए ।

बैठकमा सचिव गोपालनाथ योगीले प्रतिनिधिनिधिसभामा नै उत्पत्ति भएका र राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित तीन वटा विधेयक टेबुल गरे । ती विधेयकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५’ ‘ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘निवृत्तभरण कोष विधेयक, २०७५’ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री