आइतबार, २ कार्तिक २०८२

अमेरिकामा पहिलो पटक मानिसमा ‘मासु खाने’ परजीवीको सङ्क्रमण पुष्टि

समयपोष्ट २०८२ भदौ १० गते ११:१७


अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवी (फ्लेस–इटिङ स्क्रुवर्म) को सङ्क्रमण भएको पुष्टि भएको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) का अनुसार न्यू वर्ल्ड स्क्रुवर्म (एनडब्लूएस) मियासिस नामक यो सङ्क्रमण एक बिरामीमा फेला परेको हो, जो हालै एल साल्भाडोरबाट अमेरिका फर्किएका थिए। यो सङ्क्रमण गत अगस्त ४ मा पुष्टि भएको हो।

Advertisement

यो रोग परजीवी फ्लाईको लार्भा (म्यागोट्स) मार्फत सर्ने गर्छ, जसले जिउँदो मासु खाइदिन्छ। सामान्यतया यो परजीवीले चौपायालाई असर गर्ने भए पनि मानिसमा पनि सङ्क्रमण गर्न सक्ने बताइएको छ। अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सीडीसी) ले मेरील्यान्डको स्वास्थ्य विभागसँग मिलेर यस विषयमा अनुसन्धान सुरु गरेको छ। सीडीसीका अनुसार हालको अवस्थामा अमेरिकामा यो सङ्क्रमणले सार्वजनिक स्वास्थ्यमा ठूलो खतरा पुर्‍याउने सम्भावना ‘अत्यन्तै कम’ रहेको छ।

यो परजीवी विशेष गरी दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रमा पाइन्छ। पछिल्लो समय मध्य अमेरिकाका सबै देशहरूमा, मेक्सिकोसहित, यसको सङ्क्रमण पुष्टि भइसकेको छ। सीडीसीले जनाएअनुसार खुला घाउ भएका व्यक्तिहरूमा यो सङ्क्रमण हुने जोखिम बढी हुन्छ, विशेष गरी चौपायासँग सम्पर्कमा रहने वा प्रभावित क्षेत्रको भ्रमण गर्ने व्यक्तिहरू बढी जोखिममा हुन्छन्।

सीडीसीले सङ्क्रमणको जोखिम कम गर्न खुला घाउको उचित हेरचाह गर्न र प्रभावित क्षेत्रको यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री