शवदाह मेसिन खरिद प्रकरण : सदस्य सचिव १ लाख धरौटीमा रिहा
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापालाई विशेष अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। पशुपतिको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा थापासहित १६ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
सोमबार विशेष अदालतमा हाजिर भएका थापाको बयान र थुनछेक बहसपछि तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई १ लाख धरौटीमा छोड्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते थापासहित १४ व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ हानिनोक्सानी भएको भन्दै बिगो भराउन माग गरेको छ।
आरोपअनुसार, ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मेसिनको मूल्य बढाएर देखाइएको र एक करोड ५२ लाख रुपैयाँको पेस्की भुक्तानी गरिएको छ। कुल १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेर हिनामिना गरेको अभियोग लागेको छ।
प्रतिक्रिया