शुक्रबार, ६ असार २०८२

‘पेवेल नेपाल’ र ‘सजिलो पे’ को अनुमति खारेज

समयपोष्ट २०८२ असार ६ गते ९:५९

Advertisement

नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक कम्पनीहरूको पूर्वस्वीकृति खारेज गरेको छ। राष्ट्र बैंकका अनुसार ‘पेवेल नेपाल प्रालि’ र ‘सजिलो पे पेमेन्ट’ ले विद्यमान कानुन र निर्देशनहरू उल्लङ्घन गरेकाले उनीहरूलाई दिइएको स्वीकृति रद्ध गरिएको हो।

राष्ट्र बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यी दुई कम्पनीको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो। निर्णयअनुसार शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले आम नागरिक, सेवा प्रयोगकर्ता तथा सरोकारवालालाई जानकारी गराएको छ।

२०७७ साल असोज ११ गते पेवेल नेपाल प्रालिलाई र २०७७ चैत १७ गते सजिलो पे पेमेन्टलाई भुक्तानी सेवा प्रदायको स्वीकृति दिइएको थियो। तर, यी कम्पनीहरूले भुक्तानी तथा फस्र्यौट ऐन, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, विनियमावली र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनलगायतका प्रावधान उल्लङ्घन गरेको प्रमाणित भएको राष्ट्र बैंकको भनाइ छ।

अबदेखि यी कम्पनीहरूले भुक्तानी सेवा प्रदायकको रूपमा कुनै कारोबार गर्न नपाउने भएको छ। राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई नियमन, अनुगमन र मूल्याङ्कन गर्दै सेवा सुरक्षामा सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री