भारतको सहयोगमा लोमान्थाङको दिव्य दीप विद्यालयमा बन्ने छात्रावास भवन तथा चमेना गृहको शिलान्यास

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास कार्यक्रम आज सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रम काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गर्नु भएको हो। कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू, विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
भारत सरकारको ‘नेपाल-भारत विकास सहयोग’ कार्यक्रमअन्तर्गत नेरु ३ करोड ७६ लाखको लागतमा निर्माण हुने यस परियोजनामा छात्रावास, शौचालय, बाथरूम, भोजन कक्षसहितको भान्छा, विश्राम कक्ष तथा अन्य आवश्यक पूर्वाधारहरू समावेश गरिएको छ। यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र लोमान्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिँदैछ।

श्री दिव्य दीप माध्यमिक विद्यालय माथिल्लो मुस्ताङ क्षेत्रमा अवस्थित एक मात्र उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
सन् २००३ यता भारत सरकारले नेपालभर ५७३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरेको छ, जसमा गण्डकी प्रदेशमा मात्रै ५९ वटा परियोजना छन्। मुस्ताङ जिल्लामा १७ परियोजना सञ्चालनमा छन्। साथै, भारत सरकारले नेपालका विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थालाई हालसम्म १००९ एम्बुलेन्स र ३०० स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ। गण्डकी प्रदेशमा ११९ एम्बुलेन्स र ४० स्कूल बस पठाइएकोमा मुस्ताङका लागि ११ एम्बुलेन्स र ५ स्कूल बस समावेश छन्।
शिलान्यास कार्यक्रममा नियोग उप-प्रमुख श्रीवास्तवले वर्षौंदेखि रहँदै आएको भारत-नेपाल विकास साझेदारी अझ सुदृढ र समृद्ध बनाउने प्रतिबद्धता दोहोर्याउनु भयो। उहाँले नेपाल सरकार र नेपाली जनताको प्राथमिकतालाई मध्यनजर गर्दै भारत सरकारले सहकार्यलाई थप विस्तार गर्ने बताउनु भयो।
सोही अवसरमा गाउँपालिका अध्यक्ष गुरुङसहित अन्य प्रतिनिधिहरूले भारत सरकारको सहयोगप्रति आभार प्रकट गर्दै यस परियोजनाले शिक्षामा गुणस्तर वृद्धि गर्ने विश्वास व्यक्त गरे।

नियोग उप-प्रमुख श्रीवास्तवले आफ्नो मुस्ताङ भ्रमणको क्रममा लोमान्थाङस्थित लोवो निफुग नामड्रोल नोर्वुलिङ्ग मोनास्टिक स्कूलको पनि अवलोकन गर्नुभयो, जहाँ भारत सरकारको सहयोगमा नेरु ४.१४ करोडको लागतमा छात्रावास भवन निर्माण भइरहेको छ।
नेपाल र भारतबीचको पारस्परिक सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्यले यस्ता परियोजनाहरूले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।




























प्रतिक्रिया