नेपाल बीमक संघमा नयाँ नेतृत्व चयन

नेपाल बीमक संघले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदबार क्षेत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आवेदन माग गरेको अन्तिम समयसम्म प्रत्येक पदमा एक मात्र उम्मेदवार परेपछि सर्वसम्मत रूपमा कार्य समितिको चयन गरिएको हो।
निर्वाचन अधिकृत आनन्द बाबु खड्काका अनुसार कुनै पनि पदमा एकभन्दा बढी उम्मेदवारी नआएकाले मतदानको आवश्यकता परेन। नव निर्वाचित अध्यक्ष क्षेत्री यसअघि संघको उपाध्यक्षको रूपमा कार्यरत थिए। नयाँ कार्य समितिको औपचारिक घोषणा आज शुक्रबार साँझ होटल र्याडिशनमा आयोजना हुने संघको २२औं र २३औं वार्षिक साधारण सभामा गरिनेछ।
नयाँ कार्य समितिमा अध्यक्षका रूपमा वीरेन्द्र वैदबार क्षेत्री चयन भएका छन्। उपाध्यक्षमा अशोक कुमार खड्का, महासचिवमा सुनिल बल्लभ पन्त, कोषाध्यक्षमा युगेश भक्त बादे श्रेष्ठ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा टोटोन चक्रवर्ती, अञ्जु श्रेष्ठ र सञ्चित बज्राचार्य चयन भएका छन्।
वार्षिक साधारण सभामा संघका आर्थिक वर्ष २०७९/८० र ८०/८१ को वार्षिक प्रगति तथा वित्तीय प्रतिवेदनमाथि छलफल गरिनेछ। साथै, लेखा परीक्षकको नियुक्ति तथा सामाजिक उत्तरदायित्व अन्तर्गत संघको खर्च रकमको अनुमोदन गर्ने विषयमा निर्णय गरिनेछ।
नेपाल बीमक संघमा हाल १४ वटा निर्जीवन बीमा कम्पनीहरू आबद्ध छन्। यसअघि संघको अध्यक्षता सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्हालेका थिए। उनको नेतृत्वमा २०७८ पुस २३ गते नयाँ कार्य समिति गठन गरिएको थियो।




























प्रतिक्रिया