निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना १४ बुँदे मागहरूको सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।
महासङ्घका महासचिव रोशन दाहालका अनुसार यही माघ ३ गतेदेखि आन्दोलन सुरू हुने तयारी गरिएको छ।
महासङ्घले माघ ३ देखि ७ गतेसम्म प्रधानमन्त्री तथा विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ। त्यसपछि माघ १८ गते राजधानीको माइतीघर मण्डलामा धर्ना दिने, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने, र माघ २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व–पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम रहेको छ।
महासङ्घका अनुसार माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबैखाले निर्माण कार्य ठप्प पार्ने चेतावनी पनि दिइएको छ।
निर्माण व्यवसायीहरूले लामो समयदेखि निर्माण सामग्रीको मूल्यवृद्धि, निर्माण कार्यको भुक्तानी रोकिएको, राष्ट्र बैङ्कले दिइरहेका सुविधाहरू कटौती गरिएको जस्ता समस्या समाधानका लागि सरकारसँग माग गर्दै आएका छन्। तर, सरकारले कुनै चासो नदेखाएको भन्दै आन्दोलनको विकल्प नभएको महासचिव दाहालले बताए।
निर्माण उद्योग संकटमा परेको अवस्थामा सरकारले समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने माग महासङ्घले राखेको छ।
प्रतिक्रिया