एनसीएचएलको ३० प्रतिशत लाभांश पारित
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले ३० प्रतिशत लाभांश पारित गरेको छ।
कम्पनीको बाह्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को लाभांश पारित गरेको हो।
सभाले २८.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसपश्चात एनसीएचएलको चुक्ता पुँजी १ अर्ब ६६ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको हनेछ। साथै बैठकले अधिकृत पुँजी वृद्धि गरी २ अर्ब पुर्याउने प्रस्ताव स्वीकृत गरेको छ।
कम्पनीले पुँजी वृद्धिमार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नुका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने भएको छ। साथै जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनका लागि उक्त पुँजी प्रयोग गर्ने जनाइएको छ।
साधारण सभाको बैठकले कम्पनीको सेयर स्वामित्व संरचनामा साबिकझैं नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु मात्र कायम रहने गरी गाभ्न/गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ। त्यस्तै कारोबारका लागि आवश्यक प्रविधिमा अनुसन्धानलगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्यसहित कम्पनीको सहायक कम्पनीका रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्भाव्यता अध्ययन गर्ने भएको छ।
प्रतिक्रिया