मंगलबार, १८ वैशाख २०८१

अयोध्याधामको डिपिआर अन्तिम चरणमा, एक अर्ब भन्दा बढी लागत लाग्ने

समयपोष्ट २०७७ मंसिर १७ गते १६:११

Advertisement

माडी नगरपालिका–९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको काम अन्तिमचरणमा पुगेको छ । यहाँस्थित १०० बिघाह जमिन धामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय गरेर प्रधानमन्त्रीको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय पठाइएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार गुरुयोजना सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआर बनेसँगै राममन्दिर निर्माण गर्न थालिने छ । उहाँले भन्नुभयो, “अर्को वर्षको चैतको नवमीमा मूर्ति स्थापना गर्ने गरी बोलपत्र आह्वान गर्दैछौँ ।” धाममा आकर्षक रामको मन्दिरसँगै विभिन्न खालका धर्मशाला, अयोध्यामा दशरथले राज्य सञ्चालन गरेको दरबार, घोडा बाँध्ने गरेको तबला, उद्यान, बसपार्कलगायत विभिन्न संरचना बन्ने छन् ।

ढकालले सबै काम सम्पन्न गर्न रु एक अर्ब भन्दा बढी खर्च हुनेगरी डिपिआर बन्दै गरेको जानकारी दिनुभयो । ठूलो ठाउँ भएकाले विभिन्न रुपमा सबै ठाउँलाई बहुउपयोगी बनाउने गरी काम गरिँदै छ । अयोध्याधाम निर्माणका लागि नगरपालिकाले अयोध्या खोज तथा अनुसन्धान समिति समेत निर्माण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम अघि बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री