मंगलबार, १८ वैशाख २०८१

यी हुन् प्रधानमन्त्रीका महत्वपूर्ण चार एजेन्डा

समयपोष्ट २०७३ भदौ २९ गते ३:१७

१) तल्लो अरुण जलविद्युत् आयोजना

Advertisement

४ सय मेगावाटको तल्लो अरुण विद्युत् आयोजना निर्माणको विषयमा भ्रमणका क्रममा भारतसँग छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । मंगलबार साँझ अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिसँग आधा घन्टा भएको भेटमा प्रचण्डले भारतसँग ‘सफ्ट लोन’ लिएर योजना आफैँ बनाउने आफ्नो मनसाय रहेको बताए । 

तल्लो अरुण बनाउन ब्राजिलको ब्रास कम्पनीले १६ वर्षदेखि होल्ड गर्दै आएको थियो । तर, लामो समय काम नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा लाइसेन्स खारेज गरी आयोजना सरकारी बास्केटमा राखिएको छ ।

पहिलोपटक प्रधानमन्त्री भएको बेलाको भ्रमणमा भारतले गिफ्टका रुपमा निर्माण गरिदिने घोषणा गरेको नौमुरे आयोजनाका विषयमा यसपाली छलफल नगर्ने प्रचण्डले बताएका छन् । नेपाल पक्षले सो आयोजनालाई वहुउदेश्यीय वनाउन खोजेको थियो । तर, विद्युत उत्पादनमा मात्र सिमित गर्न खोजेपछि निर्माण हुन सकेको छैन ।

पञ्चेश्वर र महाकालीका विषयमा पनि ठोस छलफल नहुने प्रचण्डले जानकारी दिएका छन् । पत्रकारसंग प्रचण्डले भने ‘देशभित्र पच्चेश्वर लगायतका विषयमा काम अगाडी वढाउन प्रेसर छ, तर यो विषय पनि टुंगिहाल्ने मलाई लाग्दैन, त्यही भएर खासै छलफल हुन्न ।’

२) हुलाकी राजमार्ग

हुलाकी राजमार्गको पहिलो खण्ड ५२० किलोमिटर र दोस्रो खण्ड ११५० किलोमिटर छ । ५२० किमिको लागि साढे १३ अर्व रुपैया लाग्नेमा ८ अर्व भारतले सहयोग दिने र साढे ५ अर्व नेपालले ब्यहोर्ने गरि डवल लेनको बनाउने सहमति छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणका क्रममा ११५० किमि खण्डको सडक निर्माणका लागि डिपिआर तयार पार्ने विषय एजेण्डा बन्न सक्ने बताएका छन् ।

३) १ अर्व डलर (१ खर्व रुपैयाँ) का विषयमा कुरा उठने

प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल आउदा घोषणा भएको १ अर्व डलर सहयोगको विषयमा पनि कुरा उठाउने भएका छन् । १ अर्व डलरमध्ये २५ प्रतिशत अनुदान र ७५ प्रतिशत सहुलियत ऋण दिने भन्ने थियो । अनुदान रकम नेपालले लिइसकेको छ । सहुलियत ऋणबारे भारतीय पक्षसंग छलफल गर्ने प्रचण्डले बताएका छन् ।

४) मुख्य चार नाकामा रेलमार्गको प्रस्ताव

प्रधानमन्त्री प्रचण्डले विशाखापट्टनम वन्दरगाहबाट नेपालका मुख्य चार नाकामा रेल वे सेवा जोड्ने प्रस्ताव राख्ने भएका छन् । वाणिज्य मन्त्रालयले विरगञ्ज, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेल सेवा जोड्ने प्रस्ताव तयार पारेको छ । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री