मंगलबार, १८ वैशाख २०८१

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

समयपोष्ट २०७६ माघ ११ गते १७:५४

Advertisement

कृष्ण दर्नाल
व्यावसायिक मौरीपालनबाट यहाँका किसानको जीवनशैलीमा सुधार आएकोे छ । कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा मौरीपालन व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पाल्पाका युवाहरु यसतर्फ आकर्षित भएका छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाका युवाहरु मौरीपालन व्यवसायबाट गतिलो आम्दानी गर्न सफल बनेका छन् । यहाँका किसान मौरीपालन व्यवसायबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्न सफल भएका हुन् । २५–३० घरपरिवारले व्यावसायिक रुपमा मौरीपालन गरी उत्पादित मह बेचेर परिवारका लागि चाहिने खर्च जुटाउन सफल बनेको स्थानीयवासी डोलबहादुर विश्वकर्माले बताउनुभयो ।

स्थानीयवासी दयाराम पाण्डेयले १८÷२० वटा मौरीका घारमा व्यावसायिक रुपमा नै मह उत्पादन गर्दै आउनुभएको छ । उहाँको घरलाई मौरीका घारले घेरिएका छन् । एउटा घारबाट शुरु गरेको मौरीपालन व्यवसायबाट प्राप्त आम्दानीले अहिले उहाँलाई दुई–चार हजार रुपैयाँका लागि अरूको भर पर्नु पर्दैन । मौरीपालन व्यवसायबाट नै वार्षिक तीन लाखको हाराहारीमा मह बेचेर आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

परिवारका लागि चाहिने खर्च महले जुटाउन थालेपछि पाण्डेय परिवार खुशी छन् । एकपटकमा ४० देखि ५० मानासम्म रस उत्पादन हुन्छ । यस्तै स्थानीयवासी दामोदर अधिकारीको पनि छ घारमा रहेको मौरीबाट वार्षिक पचास हजारदेखि एक लाखसम्म आम्दानी हुने गर्छ । यही मौरीपालन व्यवसायबाट पनि उहाँ प्रशस्त आम्दानी गर्नुहुन्छ । पशुपालन तथा खेतीपातीसँगै उहाँले मौरीपालन व्यवसायमा हात हाल्नुभयो ।

पूर्वखोला गाउँपालिका क्षेत्रभित्र व्यावसायिक रुपमा मौरीपालन व्यवसायप्रति किसान आकर्षित हुँदै आएको छ । गाउँपालिकाले गत वर्ष प्रत्येक वडाका किसानलाई मौरीसहितका घार र घारमात्र अनुदानमा वितरण गरिएको हो । मौरीसहितको घारलाई सात हजारमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

गाउँपालिकाले मौरीपालन व्यवसायप्रति किसानलाई आकर्षित गर्नका लागि ४० गोला मौरीसहित घार र ६० थान खाली घार वितरण गरिएको कृषि शाखाप्रमुख सन्तोष कँडेलले बताउनुभयो । गाउँपालिकाभित्रका परम्परागत मौरीपालन गर्ने किसानलाई अनुदानमार्फत आधुनिक रुपमा मौरीपालन व्यवसायप्रति आकर्षित गरी आत्मनिर्भर बनाउन थालिएको गाउँपालिका कृषि शाखा प्रमुख कँडेलको भनाइ छ ।

चालु आवमा पूर्वखोला गाउँपालिकाले गोला मौरीसहित ८० थान आधुनिक घार वितरण गर्ने योजनामा छ । गाउँपालिका क्षेत्रभित्र हाल तीन सय किलो मह उत्पादन हुँदै आएको कृषि शाखाप्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार मह उत्पादन वृद्धिसँगै स्थानीयवासीको आम्दानीमा समेत वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले मौरी स्रोत केन्द्र प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले मौरी स्रोत केन्द्रलाई व्यवस्थित गर्नका लागि आवश्यकता अनुसारका औजार तथा उपकरण सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । आधुनिक मौरीका घारमा मौरीपालन गर्ने चलन बढ्दो छ । पाल्पाको तानसेन नगरपालिकाको मदनपोखरा, बगनासकाली गाउँपालिकाको चापपानी बराङदी, रिब्दीकोट गाउँपालिकाको ठिमुरे, माथागढी गाउँपालिका लगायतका स्थानीय तहमा ठूलो मात्रामा मह उत्पादन हुँदै आएको छ ।

चैत, जेठ, असार, साउन, कात्तिक र मङ्सिर महिनामा मह बढी उत्पादन हुन्छ । असोजदेखि मङ्सिरको पहिलो हप्तामा मह निकाल्न सकिने व्यवसायीहरुको भनाइ छ । जङ्गलमा फूल फुलेपछि मौरीले रस ल्याउँछन् । तोरी, दालचिनी, चिउरी लगायतका फलफूल फुलेपछि मौरीले मह हाल्ने गर्दछन् । मौरीलाई रातिमा वन्यजन्तुबाट जोगाउनुपर्छ र दिनमा कीरा तथा अरिङ्गालबाट जोगाउन सकेको अवस्थामा राम्रो आम्दानी हुन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री