मंगलबार, १८ वैशाख २०८१

‘बजारमा लौ, कम्युनिष्टको शासन आयो भनेर हल्ला गर्नु बिडम्बनापूर्ण छ, अहिल्यै साम्यवाद आउँदैन’  

समयपोष्ट २०७४ असोज २९ गते ३:४४

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले कम्युनिष्टहरु बीचको एकता कसैका विरुद्ध परिलक्षित नभएको स्पष्ट पारेका छन् । उनले बाम एकता जनताको आकांक्षा बमोजिम भएको र कसैका विरुद्ध नभएको स्पष्ट पारेका हुन । 

Advertisement

‘लौ, कम्युनिष्टको शासन आउने भयो भनेर बजारमा बिडम्बनापूर्ण चर्चा भयो । जबकि यो गलत कुरा थियो ।’ अध्यक्ष प्रचण्डले भने, ‘दुखको कुरा प्रधानमन्त्रीले पनि त्यो पत्याउनु भयो, यो साँचो कुरा होइन ।’ अध्यक्ष प्रचण्डले आफूहरु यही संविधान अन्तर्गत रहेर शान्तिपूर्ण तरिकाले अघि बढ्ने स्पष्ट पारे । ‘नेपाली जनता, सरकार र अन्तर्राष्ट्रिय जगतले समेत यसलाई अतिरञ्जित तरिकाले नबुझ्न अनुरोध गर्दछौं’ प्रचण्डले भने, ‘हामीहरु शान्तिपूर्ण तरिकाले नै अघि बढ्ने हो । कम्युनिष्ट भएको नाताले एउटै केन्द्रको प्रयास गर्नु गलत होइन, यो बाम जनमतको आकांक्षा पनि हो ।’ 

प्रचण्डले थपे ‘अहिले वाम एकताको कुरा चलेको छ । मैले त्यसको घोषणा हुनुअघि पनि प्रधानमन्त्रीलाई यो कसैप्रति लक्षित छैन भनेर भनेको हो । अहिले बजारमा आएको चर्चा दुखद छ । कम्युनिष्टको शासन आइहाल्यो भनेर प्रचार गर्नु बिडम्बना हो । हामीले यो संसदीय प्रणालीलाई नै स्वीकार गरेका छौं । हामीलाई कुनै खालको अधिनायकवाद स्वीकार्य छैन, अहिल्यै साम्यवाद आउने कुरा पनि होइन । कसैले अनावश्यक शंका र प्रचार गर्नु आवश्यक पनि छैन ।’

‘हामीले सेना समायोजन र हतियार व्यवस्थापन जस्ता अत्यन्तै चुनौतिपूर्ण जिम्मेवारी पुरा गरेका छौं । सामान्य नेताले सक्ने कुरा थिएन सेना समायोजन र हतियार व्यवस्थापन । पार्टी विभाजनको जोखिम मोलेर भएपनि यस्तो साहस गर्ने कुरा चानचुने कुरा थिएन । विश्वमा नै यस्तो कहीँ देखिन्न । त्यसैले अहिले यही संविधान अन्तर्गत शान्तिपूर्ण रुपमा विचार मिल्ने कम्युनिष्टहरु एक ठाउँ देखिँदा कोही झस्किनुपर्ने कारण छैन । अहिले यो सदनमा समेत जुन विचार व्यक्त भए, त्यसरी डराउनुपर्ने कारण छैन । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन, समृद्धिका लागि सबैसँग एक भएर जानेमा हामी जिम्मेवार छौं’, अध्यक्ष प्रचण्डले भने ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री