मंगलबार, १८ वैशाख २०८१

काठमाडौँका प्राचीन बस्तीको पुनःनिर्माणमा कोरियाले सहयोग गर्ने

rss २०७६ भदौ २० गते १७:१५


काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको पुनःनिर्माण र स्मार्ट सिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । उपत्यकाका ऐतिहासिक महत्व बोकेका साँखु, बुङमती र खोकनामा परम्परागत बस्तीको पुनःनिर्माण तथा जोडिएका क्षेत्रमा स्मार्ट सिटी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशनबीच सियोलमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement

समझदारीअनुसार पहिलो चरणमा सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पाेरेशनले प्राचीन बस्तीका रुपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र जोडिएका क्षेत्रको गुरुयोजना एवं विभिन्न योजनाको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्राधिकरणले जनाएको छ । परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने छ ।

यसैगरी कर्पोरेशनले स्मार्ट सिटी विकासका सन्दर्भमा पुनःनिर्माण प्राधिकरण र उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा पनि सहयोग पु¥याउनेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण तथा नयाँ शहरको विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत सी योङ किमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्ट सिटीको विकासमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताए । समझदारीपत्रमा नेपालका तर्फबाट प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरे ।

कोरियाली हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरको विकास तथा आवासको निर्माणका लागि स्थापना गरिएको निकाय हो । यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व पूर्वाधार सहयोग सम्मेलन (ग्लोबल इन्फ्रास्टक्चर कोअपरेसन कन्फेरेन्स) मा नेपालको पुनःनिर्माणको भावी कार्ययोजना र अन्तरराष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वान कि मुनले शहरी क्षेत्रको विकास तथा पूर्वाधार निर्माण गर्दा पर्यावरणीय संरक्षण र दिगो विकासका निम्ति सबै मुलुकका बीच सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री