
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
सोही मुद्दामा प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ धरौटी तोकेको छ।
विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासले थुनछेक बहसपछि दुवै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।
यद्यपि भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका प्रदीप अधिकारी यो आदेशले तत्काल रिहा हुने छैनन्। उनी डिल्लीबजार कारागारमै रहनेछन्।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।










प्रतिक्रिया