
नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर मसान्तभित्रै उम्मेदवारको नाम सिफारिस गर्न पार्टीका सबै तहका निकायलाई निर्देशन दिएको छ।
पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार सम्बन्धित निकायहरूलाई परिपत्र गरेका हुन्।
परिपत्रमा भनिएको छ, “राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टी विधानको धारा ३२ (९क) तथा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनका लागि धारा ३२ (८क) बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको नाम प्रस्ताव तथा सिफारिस गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।”
कांग्रेसले तल्ला तहका कमिटीहरूबाट मंसिर महिनाभरि नामावली प्राप्त गरेपछि प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका सबै उम्मेदवारको टिकट एकैपटक वितरण गर्ने योजना बनाएको छ। यसअघि अलग–अलग समयमा टिकट वितरण हुँदै आएकोमा यसपटक एकैसाथ दिने नीतिले पार्टीभित्रको आन्तरिक तयारीलाई तीव्रता दिने विश्वास गरिएको छ।









प्रतिक्रिया