शुक्रबार, १४ वैशाख २०८१

ओलीले प्रचण्डलाई चेतावनी दिँदै भने,‘चुनाव घोषणा गर्नको लागि संसद अवरुद्धले रोक्दैन्’

समयपोष्ट २०७३ पुष १२ गते १२:१४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गत्यावरोधको निकास नै निर्वाचन भएकाले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरे ।  उनले चुनाव घोषणा गर्नको लागि संसद किन चाहियो ? भन्दै सरकारलाई प्रश्न समेत गरे । 
मंगलबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा पुगेको क्लबका प्रतिनिधिहरुको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मुलुकमा तीन वटा निकायको चुनाव गर्नुपर्ने भएकोले त्यतातर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अहिले सरकार गठन गर्दा काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सम्झौताको कार्यान्वयनको अभ्यास गरिरहेको बताउँदै भने,‘साउन १९ गते काँग्रेस, माओवादी र सर्लाही–महोत्तरीमा आधारित मधेशी मोर्चावीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न उहाँहरुवीच अभ्यास हुँदैछ, तर त्यस प्रयासमा आवेशयुक्त ढंगको प्रयासले कुनै महत्व राख्दैन्, हेर्दै जानु होला, त्यो पछि थाहा हुन्छ ।’
उनले नेकपा एमाले यो मुलुकमा भएकोले चुनाव हुने विश्वास दिलाए । ओलीले अघि भने,‘चुनाव हामी गराउँछौं, किनकी नेकपा एमालेजस्तो पार्टी यो मुलुकमा छ, त्यसैले राजनीति कू बाटोतिर जान सक्दैन्, यो अन्यौलता चिर्ने पनि एमाले नै हो ।’ उनले प्रचण्ड नेतृत्वको सरकार गठन गर्दै यसको नाम म्यादी सरकार भएको उल्लेख गर्दै भने,‘म्यादी सरकार,……धेरै उफ्रिँदा ४ महिना उफ्रिन्छ, अब चुनाव गराईन्छ, त्यो पनि घोषणा गरेरै ।’ ओलीले प्रचण्डले जति उपद्रो गरेपनि अब ४ महिनामात्रै सरकारको म्याद रहेको भन्दै व्यंग्य गरे । 
ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कडा व्यंग्य गर्दै भने,‘यो सरकार गठन भएको ५ महिना भयो, संक्रमणकालिन अवस्थामा….फेरि एउटा सरकार ढालेर बनाएको, देखासेखीको हिसावलेपनि केही गर्नुपर्दथ्यो, तर धन्न हिजो मेरो पालामा ४० मन्त्री हुँदा के के भनियो, अहिले त ४० प्लस हुँदापनि मिडियाले केही भन्दैनन्, समझदारी गजब्बैको छ ।’ उनले प्रधानमन्त्री कार्यालयको खर्चपनि आफ्नो पालामा मिडियाले खुबै उचालेको तर अहिले त्यसबारेमा कुनै चर्चा नगरिएको गुनासो पोखे । 
ओलीले अघि थपे,‘हिजो मेरो पालामा ८ महिनामा ८२ लाख खर्च हुँदा मिडियाले हिसाबकिताब खुबै राखे, सञ्चार माध्यममा उद्दुम मच्चियो, तर अहिलेको सरकारले साउन देखि असोजसम्म ८७ लाख खर्च गर्यो, तर मिडियाले हिसाब राख्दैन् ?’
सरकारले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन बुझ्न नमानेको अवस्थामा कसरी चुनाव हुन्छ भनेर सोधेको प्रश्नमा अध्यक्ष ओलीले भने,‘कति दिन ? एक दिन…दुई दिन, कति दिन मान्दैन् ?’ उनले चुनाव हुने जिकिर गरे । 
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड अहिले गुरिल्ला ट्रेल र आफू २ चार दिन बास बसेको घरमा संग्रहालय बनाउँछु भन्दै हिँडेको आरोप समेत लगाए । उनले अघि थपे,‘आफू दुई चार दिन बास बसेको घरमा संग्रहलाय रे …कस्तो अचम्म ? आफूले ओढेको सिरक, डस्ना र कम्बल त्यो राख्ने हो र ?’
उनले एमाले ईतिहास बोकेको पार्टी भएकाले सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने जनाए । उनले भने,‘एमाले ईतिहास र मुलुकलाई योगदान दिएको पार्टी हो, त्यसैले संविधान कार्यान्वयन गर्नु हाम्रो मुख्य दायित्व हो ।’ उनले सरकारले जति तिघ्रा ठट्याए पनि केही नहुने चेतावनी दिँदै भने,‘संशोधन प्रस्ताव छलफल गर्न योग्य छैन, संविधान कार्यान्वयनसँग सम्बन्धित छैन, राष्ट्रिय हित अनुकुल छैन, र निर्वाचसँग कुनै सम्बन्ध नै छैन् ।’
फरक प्रसँगमा उनले धादिंगमा विप्लब माओवादीका कार्यकर्ताहरुले प्रधानमन्त्री प्रचण्डलाई उठाएका प्रश्नहरुको बारेमा पनि मिडियाले खासै नउठाएको समेत गुनासो पोखे । 
संशोधन प्रस्ताव संसदबाट विफल हुने समेत उनको ठोकुवा थियो । ओलीले संविधान संशोधन प्रस्ताव साधारण तर्क तथा वितर्कको सवाल नभएको समेत जिकिर गरे । उनले कुरा मिले संसद खुल्ने समेत दाबी गरे । तर उनले संसदमा दर्ता भएको निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअअभियोगको प्रस्ताव पास हुने बताए । 
अध्यक्ष ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा छलफल गर्न लायकै नभएको आरोप लगाए । उनले भने,‘यो संशोधन प्रस्ताव र निर्वाचनको कुनै सम्बन्ध नै छैन् ।’ 
कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले क्लबका अध्यक्ष धमलाले उठाएका मुद्दाहरु मुलुकको गतिरोध अन्त्यको लागि अत्यन्तै महत्वपूर्ण भएको भन्दै प्रशंसा गरे । उनले भने,‘धमलाजीले उठाएका कुराहरु ठ्याक्कै हाम्रो पार्टीको पनि त्यही माग हो ।’
भट्टराईले अहिले संविधान कार्यान्वयन गर्ने बेला भएको स्पष्ट पारे । उनले सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावले दलहरुलाई विभाजित गरेको समेत आरोप लगाए । उनले भने,‘संविधान कार्यान्वयले मात्रै दलहरुलाई एकतावद्ध गर्छ ।’ उनले संशोधन प्रस्ताव संवैधानिक हिसावले पनि गलत भएको र संसदको कार्यविधि विपरित रहेको टिप्पणी गरे । भट्टराईले त्यही भएर आफ्नो पार्टी संशोधन प्रस्तावको विपक्षमा रहेको स्पष्ट पारे । 
उनले सरकारले संशोधन प्रस्ताव फिर्ता गरेर वा सरकारलाई प्रतिष्ठाको विषय भए प्रस्ताव स्थगन् गरेर चुनावको लागि राजनीतिक वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले आफ्नो दलले लचकता प्रस्तुत गरिरहेको समेत विश्वास दिलाए । यद्धपी उनले वर्तमान सरकार लचक हुनुको सट्टा चुनौंति दिँदै हिडेको आरोप लगाए । 
उनले सरकारले दिएको धम्कीको सामना गर्न एमाले तयार रहेको समेत बताए । उनले संशोधन प्रस्तावको विरुद्धमा यही पुस २२ गते आफ्नो दलको नेतृत्वमा बृहत्त प्रदशर्न हुने समेत जानकारी दिए । भट्टराईले थपे,‘संख्यात्मक तागद त्यो पनि सडक र सदन दुवैमा देखाउँछौं ।’
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री