बिहीबार, १५ चैत २०८०

मुसहर समुदायका लागि धुर्मुस सुन्तलीले नमुना बस्ती बनाउने ,अपुग रकम सहयोग गर्न सबैमा अपिल

समयपोष्ट २०७३ पुष ६ गते ८:३३

सामाजिक कार्यमा सक्रिय रहेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन उनीहरुले सम्पूर्ण सहयोगी मनसँग अपील गरेका छन् ।भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो । चरम गरिबीको चपेटामा रहेका मुसहरहरु दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराईको पिछडिएको जातिमा पर्छन् । गत वर्ष सरसफाइका क्रममा धुर्मुस-सुन्तली उक्त मुसहर बस्तीमा पुगेका थिए ।शीतलहरबाट पिल्सिएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष त्यहाँ न्यानो वितरणसमेत गरेका थिए । भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । गास, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखापरिसकेको ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन् । ‘स्वास्थ्य, शिक्षा, सरसफाइमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाइयुक्त बनाउन सक्नु ठूलो परिर्वतन हो, त्यो उपलब्धि हासिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ ’ -उनले भने ।

Advertisement

‘नजिकै विद्यालय भए पनि विद्यालय नजाने बालबालिका हामीले आग्रह गरेपछि विद्यालय जान थालेका छन्,’ उनले अगाडी भने, ‘सरसफाइमा ध्यान पुर्‍याउन थालेका छन्, त्यसैले पनि त्यो बस्तीलाई सुन्दर बनाउने सपना देखेका हौं ।’ 

४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकिकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन्। मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सम्पूर्ण सहयोगी मन समक्ष उनले आग्रह गरेकी छिन्।

‘दुईवटा बस्ती निर्माण सम्पन्न गरिसकेपछि अझै बढी जिम्मेवारी बढेको महसुस गर्दै चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नयाँ परियोजनाको घोषणा गरेका हौँ,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री