शनिबार, २२ वैशाख २०८१

प्राधिकरणले चोभार-पाटन सबस्टेसन जोड्ने १३२ केभी भूमिगत प्रसारणलाइन निर्माण गर्ने, लागत ९० करोड , दुई वर्षमा सम्पन्न गरिने

समयपोष्ट २०७९ मंसिर २५ गते १०:५१

Advertisement

नेपाल विद्युत प्राधिकरणले चोभार-पाटन सबस्टेसन जोड्नेगरी १३२ केभी भूमिगत प्रसारणलाइन निर्माण गर्ने भएको छ ।

प्राधिकरणले बागमती प्रदेश अन्तर्गत निर्माणाधीन चोभार सबस्टेसनदेखि पाटन सबस्टेनससम्मको ४.५ किलोमिटर लामो भूमिगत लाइन निर्माण गर्न लागेको हो ।

प्राधिकरणले २०० मेगावाट विद्युत प्रवाह क्षमता रहनेगरी कीर्तिपुर नगरपालिकाको चोभारमा निर्माण भइरहेको १३२ केभी चोभार सबस्टेनदेखि लगनखेल, ललितपुर मनपा-५ को पाटन सबस्टेसनसम्म करिब ५ किलोमिटर लम्बाइको डबल सर्किट भूमिगत प्रसारणलाइन निर्माण गर्नेछ।

उक्त प्रसारणलाइनमा तारलाई उद्‍गम विन्दुदेखि अन्तिम विन्दुसम्म पक्की सडकमुनि बिछ्याइने छ। प्रसारणलाइनमा ९ वटा जोइन्ट पिट रहने छ। तार भूमिगत गर्दा खाडल खनिने र केही ठाउँमा तेर्सो ड्रिलिङ विधि प्रयोग गरिने पनि प्राधिकरणले जनाएको छ।

Advertisement

आयोजनाको प्रस्तावित क्षेत्र कीर्तिपुर-६ र ललितपुर महानगरका ४,५, १३, १४ र १८ नम्बर वडा पर्ने सूचनामा जनाइएको छ।

आयोजना अन्तर्गत नै ३३ केभी पाटन सबस्टेनलाई १३२ केभी जीआइएस सबस्टेसनमा स्तरोन्नति गरिनेछ । आयोजनाको काम निर्माण सुरु भएको २ वर्षमा सम्पन्न गरिने योजना छ । आयोजनाको सम्पन्न गर्न ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजना निर्माण गर्दा भौतिक, रासायनिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक, वातावरणसँग सम्बन्धित तथ्यांक संकलनको काम भइरहेको छ ।

प्रतिवेदन तयारीका लागि प्राधिकरणले सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरी स्थानीय सरोकारवाला व्यक्ति, घरधनी, व्यापार व्यवसायमा संलग्न निकाय, संघ संस्था प्रतिनिधिहरूसँग राय/सुझाव लिईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री