शनिबार, ८ वैशाख २०८१

जनभावनाको कदर गर्न भन्दै सांसदहरु बोले सडक विस्तारको बिरोधमा

समयपोष्ट २०७४ पुष ८ गते १२:१९

काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यले जनताका लागि विकास भएकाले सडक विस्तार गर्दा जनभावनाको कदर हुनुपर्नेमा जोड दिएका छन् ।

Advertisement

जोरपाटी–सुन्दरीजल सडक विस्तार संघर्ष समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद कृष्ण राईले स्थानीय तहमा हुने विकास निर्माण एवं समस्याको समाधान स्थानीय सरकारबाटै हुनुपर्नेमा जोड दिए ।

स्थानीयस्तरका काम स्थानीय सरकारबाटै गर्ने गरी कानून निर्माण भइरहेकाले त्यसैअनुसार गर्न सांसदका नाताले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

क्षेत्र नं ३ प्रदेशसभा क का सांसद छिरिङदोर्जे लामाले भत्काएर मात्र विकास निर्माण नहुने भएकाले उचित क्षतिपूर्ति एवं मुआब्जा दिएर काम अघि बढाइनुपर्ने विचार राखे ।

क्षेत्र नं ३ प्रदेशसभा ख का सांसद रामेश्वर फुयाँलले विकासका लागि सहयोग गर्न सबै तयार भए पनि सडक दायाँबायाँका घरलाई उचित क्षतिपूर्ति दिनेगरी समस्या समाधान गर्न माग गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सर्वोच्च अदालतले पनि उचित क्षतिपूर्ति दिएर सडक विस्तारको काम अगाडि बढाउन आदेश दिएकाले त्यसैअनुरुप काम हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, संघर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठ, सचिव सुशील सिंखडालगायतले सडक विस्तारका नाममा जनता आतंकित नबनाउन अनुरोध गरे । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री