अर्कैसंग विवाह गर्ने फिक्स्ड भएपछि प्रेमिकालाई मारेर पुलबाट फाले

मंसिर १७ गते विहान ५ नबज्दै मन्दिरा अधिकारी उठिन्। घर कसिंगर गरिन्। आगो जोडिन्। चिया पकाइन्। अनि आमा कृष्णमायालाई बोलाउन ओछ्यानमै पुगिन्। सधैं ढिलो उठ्ने छोरी आफूभन्दा पहिले उठेर बोलाउँदा आमा दंग परिन्। दिउँसो दिदी एलिसा, मन्दिरा र आमा तिनैजना मिलेर आगनकै खलोमा मास कुटे। बुवा नन्दकुमार कामको सिलसिलामा सदरमुकाम फुङलिङ गएका थिए। भोलिपल्ट छिमेकीको पर्म तिर्न जानुपर्ने थियो। बेलुका खाना खाने क्रममा आमाले मन्दिरालाईं भनेकी थिइन्, ‘दिदी र म बाँकी मास कुट्छौं, तँ मेला जा है।’ खाना खाएर ‘हुन्छ’ भन्दै निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी १९ वर्षिय मन्दिरा हालसम्म बेपत्ता छिन्।

Advertisement

मन्दिरालाई बेपत्ता पारेको अभियोगमा दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबिच प्रेम सम्बन्ध रहेको खुलेको छ। रमेशले बयानमा मन्दिराको हत्या गरेको स्विकारेको प्रहरीले जनाएको ाछ। ‘मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो। उसले बिहे गरौं भनेर दबाब दिइरहेको थियो। हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो। त्यसैले मारिदिएँ’, रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ। मन्दिराको शव नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्धा दायर गरी अनुसन्धान गरिरहेको छ।

काका चन्द्रका अनुसार मन्दिरा बेपत्ता भएकै दिन दिदी एलिसाको फेसबुकमा झापाको हल्दीवारीस्थित नारायण पौडेलको छोरा दिपकसँग विवाह गरेको भनेर मन्दिराको फेसवुकबाट मेसेज आएको थियो। त्यसपछि परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगेका थिए तर भेटेनन्।

दिदीकै फेसवुकमा फेरि दलित थरका युवकले आफूलाई भारत पुर्‍याएको भनेर अर्को मेसेज आयो। सो मेजेस रमेशले पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। वेपत्ता भएकै दिन चोकपुरस्थित उनको घरबाट करिव ४० मिनेटको पैदल दुरीमा रहेको तमोर नदी किनारको मित्ला खेतमा लगेर हत्या गरी पुलबाट नदीमा फालिदिएको रमेशले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ।

Advertisement

यसरी भयो घटना

घटनामा संलग्न रमेशको मंसिर २५ गते विवाह तय भएको थियो। विवाहका सामान खरिद गर्न उनी मंसिर १७ गते फुङलिङ बजार गएका थिए। बजारबाट फर्कने क्रममा पीडितलाई सम्पर्क गरी पुलमा भेट्ने योजनाअनुसार भेट भएको थियो। भेटका क्रममा विवाहबारे विवाद भएपछि हत्या गरि झोलुंगे पुलबाट नदीमा हालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनापछि रमेशले आफू अपहरणमा परेको र असुरक्षा भएको भन्दै आफ्नै परिवार तथा प्रहरीलाई झुटो जानकारी दिएका थिए। मन्दिरा वेपत्ता भएको र रमेशले आफू अपहरणमा परेको दिन एकै भएपछि अनुसन्धान रमेशतर्फ मोडिएको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयाँलले बताए।

रमेशको वयानपछि उनलाई लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, कपालमा लगाउने चिम्टी, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा र मन्दिराले कानमा लगाएको टप फेला पारेको छ। हाङपाङका रमेश मन्दिराको घरमा बसेर गुप्तेश्वर माविमा अध्यापन गर्थे। ‘मेरा चार बहिनी छोरी हुन्। रमेशलाई छोरा सरह मानेर राखेको थिएँ, दसैंमा टिका र तिहारमा छोरीले भाइटिका लगाइदिन्थे’, मन्दिराका बुबा नन्दकुमारले भने, ‘आज यस्तो बज्रपात गरायो।’

छोरीले दाजु र आफुहरुले छोराको रुपमा स्विकारेको मान्छेले घटना घटाएको सुन्दा कृष्णमाया अर्धमुर्छित भएकी छन्। अपराधीलाई हदैसम्मको कारवाही गरिदिन बुबा नन्दकुमारले प्रहरीसमक्ष आग्रह गरेका छन्। प्रहरीले पत्रकार सम्मेलनमार्फत् अभियुक्त रमेशलाई आइतबार सार्वजनिक गरेको हो।

गोताखोर टोली सशस्त्र प्रहरीमा मात्रै हुने र कुरिनटारबँट आउनुपर्ने भएकाले प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। गृह मन्त्रालयमा लिखित र मन्त्रालयका सचिवसँग टेलिफोन गरेर अनुरोध गरिएको निरौलाले बताए। प्रहरी र स्थानीयले तमोरमा मन्दिराको शव खोजिरहेको मन्दिराका काका चन्द्रले जानकारी दिए। अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री