कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गरिएको माटो परीक्षणमा क्षारीय र अम्लीयपन न्यून मात्रामा पाइएको छ । व्यावसायिक खेतीका लागि गरिएको माटो परीक्षणमा क्षारीय र अम्लीयपन न्यून रहेको पाइएको हो । नगरपालिका क्षेत्रबाट एक हजार २०० माटोका नमूना सङ्कलन गरी जाँच गरिएको छ ।
चारवटा वडामा घुम्ती माटो शिविरको आयोजना गरी माटोको नमूना सङ्कलन गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँका अनुसार माटोका सङ्कलित नमूनामा नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा मध्यम पाइएको छ ।
“क्षारीय र अम्लीयपन माटोका चेकजाँच गरिएका नमूनामा पाइएको छैन”, उहाँले भन्नुभयो, “नगरपालिका क्षेत्रभित्रका नमूना चेकजाँच गरिएका वडा नं १, २, ३ र ४ मा नगदे, तरकारी र अन्न बाली फस्टाउने देखिएको छ ।” अधिकांश नमूनामा माटोको मान तटस्थ देखिएको छ ।
माटोमा पाइने सूक्ष्म तत्वसमेत औसतमा रहेकाले माटोको गुणस्तरलाई कायम राख्नका लागि नगरपालिकाले किसानलाई प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गर्ने शाखाप्रमुख धामीको भनाइ रहेको छ । जुनसुकै बाली पनि लगाउन सकिने भएकाले बजारको उपलब्धता र किसानको मागका आधारमा नगरपालिकाबाट अनुदान रकम उपलब्ध गराई किसानलाई व्यावसायिक बनाइन लागेको उहाँले बताउनुभयो ।
आउँदो वर्ष मागका आधारमा माटो चेकजाँचको कार्यलाई अगाडि बढाइने उहाँले बताउनुभयो । माटोका नमूना चेकजाँच गरिएका वडाका किसानलाई एक वडा एक उत्पादन कार्यक्रममा समेटेर समूहमा आबद्ध गराई अनुदान रकम प्रदान गरिने नगरप्रमुख कर्णबहादुर हमालले बताउनुभयो ।
“केही माटोका नमूनामा प्राङ्गारिक पदार्थको कमी देखिएको छ”, नगरप्रमुख हमालले भन्नुभयो, “माटोमा प्राङ्गारिक पदार्थको कमी हुन नदिनका लागि किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउनसमेत अनुदान दिने व्यवस्था गरेका छौँ ।”
घरमै तयार गरिएको जैविक विषादी र मलको प्रयोग गरी तरकारी र अन्य बाली लगाउने किसानलाई प्रोत्साहित गर्न थप अनुदान दिन्छौँ । “जैविक विषादी र मलको प्रयोगलाई बढावा दिई रासायनिक मल र विषादीलाई प्रतिस्थापन गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “प्राङ्गारिक तरिकाले खेती गर्दा किसानले उत्पादनको बढी मूल्य पाउने, स्वस्थ्य तरकारी र अन्नको उपभोग गर्दा घातक रोगहरु नलाग्ने तथा माटोको गुणस्तर कायम रहने हुन्छ ।”











प्रतिक्रिया