मंगलबार, १८ वैशाख २०८१

मेरो परिवार : ‘तोकिएको समयभित्र घरमा नपुग्दा झगडा हुन्छ’

समयपोष्ट २०७५ कार्तिक २५ गते ५:२९

कार्यक्रम सकिएपछि बचेको सबै समय परिवारलाई नै दिने गरेकी छु  । म अविवाहित हुँ । त्यसैले जति पनि कार्यक्रम गरेर बचेको समय हुन्छ, त्यो सबै मेरो ममी–बाबालाई नै हो । म एक्लो सन्तान हुँ । समय हुँदा सँगै बस्छौँ । जोक्सहरु गरिन्छ । बाबा–ममी दुवै कुरा बुझ्ने हुनुहुन्छ । विशेषतः मेरो ममी मेरो साथी जस्तै हुनुहुन्छ । हामी सँगै बस्छौँ, मजाक गर्छौं । हाँसोमजाक गर्दा त्यसै पनि रमाइलै हुन्छ ।

Advertisement

फिल्म

मन लागेको फिल्म जुन बेला पनि हेरिरहेको हुन्छु । ८ बजेसम्म घर पुग्नै पर्ने हुँदा ८ बजे अगाडिको शो हेर्ने गरेकी छु । मेरो ममीलाई मुभिमा खासै रूचि छैन । बाबा टिभीमा पनि बढी समाचार नै हेर्नुहुन्छ । उहाँलाई लोकगीतका कार्यक्रम बढी मन पर्छ । बच्चा बेलामा एक पटक मलाई बोकेर फिल्म हेर्न लगेको याद छ । त्यति नै हो, नभए परिवार नै मुभि हेर्न गएको छैन । म साथीहरुसँग बढी जान्छु ।

परिवारमा झगडा

मेरो परिवारमा पनि कहिलेकाहीँ पर्छ । हामी तीन जना तीनथरी विचारधाराका छौँ । कहिले बाबासँग कुरा मिल्दैन, कहिले ममीसँग । तर त्यो क्षणिक हुन्छ । ठूलो झगडा भन्ने हुँदैन । मुख्य त समयकै कारण झगडा हुन्छ । घरमा तोकिएको समयभित्र नपुग्दा बढी विवाद हुन्छ । पाँच–दश मिनेट ढिलो पुग्दा पाँच–दश मिनेट छिटो किन आउन सक्दिनस् भन्ने हुन्छ । कहिलेकाहीँ आफ्नो साधन लिएर गइँदैन । साधन नलग्दा सार्वजनिक सवारी प्रयोग गर्नुपर्ने हुन्छ । घर ढिलो पुग्नाका यस्ता यावत् कारणहरु हुन्छन् । त्यस कारण प्रायः मेरो आफ्नै कमजोरीले गर्दा झगडा हुन्छ ।

घरको काममा सहयोग

घरमा काम गरिरहेको हुन्छु । मेरो मुख्य काम भनेको भाँडा माझ्ने, किचेन सफा गर्ने हो । ममी पढाउनुहुन्छ । उहाँ बिहान खाना बनाएर खाएर निस्किनुहुन्छ । हामी घरमा तीन जना छौँ । सबैले मिलेर काम गर्छौं । आफूले काम गर्न सक्ने हुँदासम्म काम गर्ने स्टाफ किन राख्ने भन्ने लाग्छ । त्यसैले घरको काम हामी आफैँ गर्छौं । बिदाको दिनमा लुगा ममी र म मिलेर धुन्छौँ । मेरो परिवार एकदम साधारण छ । मेरो बाबा हरिबहादुर राउत आफैँ पनि वरिष्ठ लोक गायक । उहाँले २०३२ सालदेखि गाउन थाल्नुभएको हो । मेरो ममी गीत लेख्नुहुन्छ । मेरो यसअघिको एल्बममा दुईवटा गीत थिए, अहिलेको एल्बममा एउटा गीत छ । त्यस कारण मेरो घरको वातावरण रमाइलो छ ।

मन पर्ने परिकार

ममीले बनाएको सबै खानेकुरा मन पर्छ । मेरो घरमा भेज खाना पाक्छ । त्योबाहेक जापानिज, कोरियन, नेवारी खाना बढी मन पर्छ । म खासै खानेकुरा बनाउँदिनँ । हामी बिहान एक टाइम मात्र भात खान्छौँ । बेलुका जसलाई जे मन लाग्छ, त्यही खाने हो । बाबा र मैले प्रायः बाहिरै खाइरहेका हुन्छौँ । ममीले हल्का भेज खाना खानुहुन्छ । पकाउनै परे सायद चिया र चाउचाउ मीठो बनाउँछु होला । तरकारीहरु पनि मीठो बनाउँछु ।

पेसामा परिवारको साथ

मेरो बाबा आफैँ साङ्गीतिक क्षेत्रको भएको हुँदा सहयोग नहुने कुरै भएन । तर राति–राति शोहरु गर्न भने मलाई अनुमति छैन । मेरो नयाँ एल्बम आधार भाग दुई छिट्टै बजारमा आउँदैछ । यसको लागि मेरो बाबा–ममीको साथ र सहयोग नभएको भए सम्भव हुने थिएन । मेरो गुरू सुरेश अधिकारीज्यूको सहयोगबाट म नेपालकै छोरी हुन पाएकी छु । सबै दर्शक–श्रोताहरुको माया पाएकी छु ।

बलियो परिवारको आधार

आपसमा अन्डरस्ट्यान्डिङ हुन एकदम जरूरी छ । धेरै जना भएको परिवारमा कतिपय कुराहरुमा विमतिहरु हुन्छन् । त्यस कारण एक–अर्कालाई बुझ्नुपर्छ । बुबा–आमा ख्याल गर्ने । प्रायः विवाह गरेपछि छोराहरुले बुबा–आमालाई ख्याल नगर्ने हुन्छन् । त्यस्ता कुरामा छोरी मान्छेले बढी ख्याल गर्नुपर्छ । छोरीलाई आफ्नो बुबा–आमा जति प्यारो हुन्छ, छोरालाई पनि हुन्छ र त्यो हुनु पनि पर्छ । बुहारीलाई सासू–ससुराले छोरी जस्तो र बुहारीले सासू–ससुरालाई आमा–बुबा जस्तो गर्नुपर्छ, ख्याल राख्नुपर्छ । छोरी मान्छेले नै आफ्नो श्रीमान्लाई आमा–बुबाको ख्याल राख्नुपर्छ भनेर सम्झाउने गर्नुपर्छ । मरेपछि बिलौना गरेर केही पनि हुँदैन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री