मंगलबार, १८ वैशाख २०८१

मेरो परिवार : ‘विनोदजीले त्यसमा हस्तक्षेप गर्नुहुन्थ्यो भने मलाई सहज हुँदैन थियो’

समयपोष्ट २०७५ कार्तिक २४ गते ७:१७

परिवारलाई समय दिन नसक्दा मलाई कहिलेकाहीँ निकै गिल्टी फिल हुन्छ । मैले परिवारलाई समय दिनुभन्दा पनि परिवारले मलाई समय दिइरहेको हुन्छ । सुरूवातबाट नै मैले परिवारका लागि त्यस्तो समय निकाल्नुपरेन । उहाँहरुले मसँग समयअनुसार सधैँ एडजस्ट गरी नै रहनुभयो । एउटा आमा भएको नाताले भन्नुपर्दा बच्चाका लागि समय निकाल्न पहिले–पहिले निकै गाह्रो हुन्थ्यो तर अहिले मिलिरहेकै छ ।

Advertisement

परिवारसँगै हुँदा सधैँ रमाइलो

जहिले पनि रमाइलो नै भइरहेको हुन्छ । परिवार भनेकै यस्तो चिज हो, जहाँ जहिले पनि बाहिरभन्दा सहज महसुस हुन्छ । म जति समय परिवारसँग हुन्छु, त्यो क्षण मलाई सधैँ रमाइलो नै हुन्छ ।

हलसम्म पुगेरै फिल्म हेर्छु

चलचित्र क्षेत्रमै काम गर्ने भएर पनि हो कि मुभि अत्यन्तै कम हेर्छु तर जति पनि हेर्छु, त्यो हलसम्म पुगेरै हेर्छु । अहिले त प्रविधिको यति धेरै विकास भइसक्यो कि सामाजिक सञ्जालमै पनि हामी मुभि हेर्न सक्छाँै तर मलाई ठूलो पर्दामै गएर मुभि हेर्न मन पर्छ । विशेष गरी नेपाली मुभि नै हेर्छु । म परिवार र साथी–भाइसँगै जान्छु ।

समझदारी नहुँदा झगडा पर्छ

अहिले मेरो परिवारमा झगडा एकदमै पर्दैन भन्दा पनि हुन्छ । पहिले–पहिले ठास्स–ठुस्स अलिअलि हुन्थ्यो । त्यो सामान्य हो, हरेक परिवारमा भई नै हाल्छ । केही कुराहरु आफूलाई चित्त बुझ्दैन । अलिकति युवा हुँदा त्यस्तो हुन्छ होला तर अहिले त इनर्जी पनि सक्किईसक्यो । अब कहिले केही कुरा चित्त नबुझे पनि नबोल्दै उपयुक्त हुन्छ जस्तो लाग्छ । अहिले पनि केही कुराहरु चिक्त बुझ्दैन तर पनि मौन बसिन्छ । अहिलेको झगडा मौन नै हुन्छ ।
परिवारमा हुने झगडाको मुख्य कारणहरु अडान नै हुन्छ । जस्तो– कुनै कुरा एउटा पक्षलाई सही लागेको हुन्छ भने अर्कोलाई त्यो सही नलाग्न पनि सक्छ । समझदारी हुँदैन । त्यसले गर्दा अलिअलि झगडा हुन्छ । सामान्य कुरा हुन्छ । जस्तो– आज यसो गरौँ न भन्दा होइन, पछि गरौँ न भन्नेखालका इस्यूहरु हुन्छन् ।

वर्षमा पाँच–छ पटक किचेनमा पस्छु

घरको काममा सुरूदेखि नै म एकदमै पछाडि छु । जस्तो भए पनि ममीले सानो बेलादेखि नै हामीलाई घरको काम लगाउनुभएन । मैले घरभन्दा बाहिर नै धेरै काम गरेँ । विवाहपछि पनि विनोदजी बढी किचेनमा व्यस्त हुन रूचाउनुहुन्छ, म त्यति रूचाउदिनँ । स्टाफहरु पनि हुनुहुन्छ । उहाँहरुले नै सबै कुरा उपलब्ध गराइदिनुहुन्छ । तर कहिलेकाहीँ बच्चालाई आफैँ बनाएर खुवाऊँ भन्ने हुन्छ । वर्षमा पाँच–छ पटक किचेनमा पस्छु ।
म सबै कुरा मीठो बनाउँछु । हो, म पकाउँदिनँ तर पकाएपछि सबै मीठो पकाउँछु । म जे गर्छु, त्यसमा सतप्रतिशत दिनुपर्छ भन्ने मेरो मान्यता हो । हरेक काम मेहनत गरेरै गर्छु । त्यस कारण जे पकाए पनि मीठो हुन्छ ।

खसीको पक्कु एकदम मन पर्छ

अहिले त सागसब्जीहरु नै बढी मन पर्छ । आफ्नै बारीमा फलेको अझ स्वादिष्ट लाग्छ । सीफुडहरु पनि मेरो मन पर्ने परिकारभित्र पर्छन् । जस्तो– प्राउन, माछा । अनि मेरो ममीले पकाएको खसीको पक्कु एकदम मन पर्छ । तर अहिले मैले रेडमिट एकदम कम गरेको छु ।

कला क्षेत्र बुझेको परिवार

सुरूदेखि नै यस क्षेत्रमा मलाई मेरो परिवारको साथ छ । विनोदजी र मेरो धेरै कुराहरुमा मतभिन्नताहरु भए पनि एउटा कमन चिज भनेको फिल्म नै हो । मेरो ससुरा ईश्वर मानन्धर लेखक हुनुहुन्थ्यो । उहाँले किताबहरु लेख्नुभएको छ । मेरी नन्द ललिता मानन्धर गीत गाउनुहुन्थ्यो । विनोदजीलाई फोटोग्राफीमा निकै नै रूचि छ । मेरी कान्छी नन्द पत्रकार । बीबीसी, डिस्कभरीका लागि उहाँले थुप्रै डकुमेन्ट्रीहरु बनाउनुभएको छ । परिवारमा सबैले कला क्षेत्र बुझेको भएर पनि होला, मलाई निकै सजिलो भयो । उहाँहरुले मैले रोजेको क्षेत्रमा कहिल्यै आपत्ति जनाउनुभएन ।

बलियो परिवारको आधार समझदारी

सबैभन्दा पहिलो कुरा त समझदारी नै हो । मुख्य कुरा एकले अर्कालाई सहनुप¥यो । जस्तो– मैले विनोदजीको रूचि बुझेर उहाँसँग म सहज भइदिनुप¥यो । त्यस्तै, मेरो रूचि बुझेर उहाँले पनि सहजता अपनाइदिनुप¥यो । म आफ्नो रूचिअनुसार डे«सअप गर्न निकै मन पराउँछु । विनोदजीले त्यसमा हस्तक्षेप गर्नुहुन्थ्यो भने मलाई सहज हुँदैन थियो होला । हाम्रो नेवारी परिवार हो । म क्षेत्री हुँ । मैले उहाँको संस्कृतिमा एडजस्ट गर्नुपर्ने कुराहरु हुन्छन् । त्यसो गर्दा उहाँलाई खुसी मिल्छ । म खर्च गर्ने कुरामै पनि उहाँमा नै निर्भर छु । घर चलाउने उहाँले नै हो । उहाँले जे दिनुहुन्छ, त्यसमा म एकदम खुसी छु । त्यो भयो भने समझदारी कायम हुन्छ होला । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री