शुक्रबार, ७ वैशाख २०८१

‘पाँच नम्बर प्रदेश टुक्र्याउनेगरि प्रस्ताव आए म  संसदमा विपक्षमा मतदान गर्छु’

समयपोष्ट २०७३ मंसिर ११ गते ३:२३

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्नेगरि संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । उनले अघि भने,‘मेरो लागि देश र जनता ठूलो कुरा हो, पार्टी भनेको त्यसपछिमात्रै हो ।’ 
रायमाझीले विवाद नै नएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाईदा नहुने जिकिर गरे । उनले ५ नम्बर प्रदेशलाई टुक्र्याउनेगरि संविधान संशोधनको प्रस्ताव आएमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारे । 
नेता रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने विषयमा ९० प्रतिशतको विरोध रहेको उल्लेख गर्दै भने,‘५ नम्बर प्रदेशका सबै दलहरु एक ढिक्का छन्, यदि ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कुरा भए जनता स्वतस्फुर्त आन्दोलनमा उत्रिन्छन, अहिलेपनि आन्दोलनका झिल्काहरु देखा परेका छन् ।’ उनले भुईँको टिप्न खोज्दा गोजीको खस्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी समेत दिए । 
उनले संविधान संशोधनको लागि दलहरुवीच सहमति जुटाउनुपर्ने बताउँदै भने,‘संशोधन के–के विषयमा गर्ने भन्नेबारेमा दलहरुवीच सहमति कायम गर्नुपर्छ, टेबुलमा बसेर छलफल गरेपछि मात्रै संशोधनबारे निश्कर्षमा पुग्नुपर्छ ।’ उनले विवादै नभएको जिल्लालाई चलाउँदा मुलुक र जनता कसैको पनि हित नहुने जिकिर गरे । लुम्बिनी र राप्तीका जनता एक ढिक्का रहेको उल्लेख गर्दैै त्यसमा हात हाल्ने काम कसैले पनि नगरे हुने उनको चेतावनी थियो । 
विवाद नै नभएका जिल्लाहरुलाई चलाउँदा मधेशी मोर्चाको आन्दोलन र बलिदानीको अस्तित्व पनि समाप्त हुने रायमाझीको दाबी छ । यद्धपी उनले आफ्नो पार्टीले अहिलेसम्म यसबारेमा आधिकारिक निर्णय नगरेको समेत जिकिर गरे । रायमाझीले संविधान संशोधन देखाउनको लागि र औपचारिकता मात्रै निभाउनको लागि ल्याउन नहुने बताए । 
उनले सहमतिमा संविधान संशोधनको प्रयास जारी राख्नुपर्ने यदि त्यसो भएन भने विधि र प्रक्रियाबाट अघि बढ्नुपर्ने सुझाव दिए । उनले ५ नम्बर प्रदेशलाई चलाउन नहुने भनेर सबैभन्दा पहिला आफूले बोलेको उल्लेख गर्दै त्यसपछिमात्रै एमालेले यसबारेमा बोलेको स्पष्ट पारे । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री