नेपाललाई टिकटकले पठाएको सात बुँदे पत्रमा के छ ?
नेपाल सरकारको टिकटक बन्द गर्ने निर्णयले आफुलाई आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ ।
टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका प्रमुख पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् । टिकटक बन्द गर्ने सरकारको निर्णयबाट आफूहरुसहित लाखौं नेपाली जनताहरु आश्चर्यमा परेको पत्रमा उल्लेख गरिएको छ । टिकटिकको प्लेटफर्मलाई छोटो समयमा नै नेपालको विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक थतहमा मानिसहरुले अंगालेको पत्रमा उल्लेख गरिएको छ ।
‘नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं,’ पत्रमा भनिएको छ, ‘यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका छन् । उनीहरूले यो प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका छन् ।’
टिकटक बन्द हुँदा युवा पुस्ताका धरै नेपाली कन्टेन्ट क्रिएटरहरुलाई असर गरेको टिकटकको दाबी छ ।
नेपालका थुप्रै युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको र यसरी बन्द गर्दा उनीहरूको व्यवसायमै समस्या आउने भन्दै टिकटकले पत्रमार्फत चिन्ता व्यक्त गरेको छ ।
नेपालमा सञ्चालनका लागि भएका प्रयासहरुबारे टिकटकले पत्रमार्फत स्मरण गराएको छ ।
आफ्ना प्रतिनिधिहरूले गत कात्तिक १७ गते (नोभेम्बर ३) गृह मन्त्रालयअन्तर्गत साइबर अपराध नियन्त्रण र साइबर सुरक्षाको कमिटीसँग भेटघाट गरेको पत्रमा उल्लेख छ । त्यसै गरि गत अक्टोबर ५ मा नेपालमा इन्टरनेट सुरक्षा सचेतना सम्बन्धी अभियान चलाउने सहमति पत्रमा हस्ताक्षर भएको टिकटकले स्मरण गराएको छ ।
टिकटकले नेपालको कानुनद्वारा बर्जित कुनै पनि सामग्री हटाउन सिधै अनुरोध गर्न सकिने पोर्टल, ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’ को पहुँच पनि प्राधिकरणलाई दिएको पत्रमा उल्लेख गरिएको छ । टिकटकले ट्यास प्येयरको रुपमा दर्ता भएको पत्रमा स्मरण गराएको छ ।
‘हामीले नेपाल सरकारलाई ७ जुमा नेपालको कानुनद्वारा वर्जित कुनै पनि सामग्री हटाउन सिधै अनुरोध गर्न सकिने पोर्टल, ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’ को पहुँच दिएका थियौं । त्यस्तै २९ अगस्टमा डिजिटल सर्भिस ट्याक्स पेयरका रूपमा दर्ता पनि गरेका छौं’ पत्रमा भनिएको छ ।
कम्युनिटी गाइडलाइन्स भ्वाइलेन्स गरेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको टिकटकले जनाएको छ । सन् २०२२ अक्टोबरदेखि सन् २०२३ जुनसम्म उक्त संख्यामा भिडिओहरू हटाइएको टिकटकको पत्रमा उल्लेख गरेको छ ।
यी प्रयत्नहरुले आफूहरु सरकारसँगको सहकार्यका लागि कति प्रतिबद्ध र प्रयासरत छौं भन्ने देखिने उल्लेख गर्दै टिकटकले भनेको छ, ”यसकारण टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँगको हाम्रो सहकार्य विपरीत छ । प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग काम गरिरहन प्रतिबद्ध छ । त्यसैले हामी टिकटक बन्द गर्नुपर्ने वास्तविक र विशिष्ट कारणहरू के हुन् भनेर हामीलाई प्रस्ट जानकारी दिन नेपाल सरकारसँग अनुरोध गर्छौं ।’कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया