मंगलबार, ११ वैशाख २०८१

औषधि खरिद प्रक्रिया छिट्टै टुङगाउँ : स्वास्थ्य मन्त्री

समयपोष्ट २०७३ कार्तिक २३ गते १३:२१


काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले देशभरका सरकारी अस्पताललाई  कात्तिक मसान्तभित्र औषधि खरिद प्रक्रिया  टुङगाउँन  निर्देशन दिएका छन् ।

Advertisement

मंगलबार स्वास्थ्य मन्त्री थापा स्वास्थ्य सेवा विभाग पुगी औषधि खरिद प्रकियाबारे जानकारी लिदै सबै जिल्ला अस्पताल लगायत स्वास्थ्य केन्द्रहरुलाई औषधी खरिदका लागि कात्तिक मसान्त भित्रै टेण्डर प्रकिया सुरु गरिसक्न निर्देशन दिएका हुन्।

यस लगतै प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाले मातहतका सबै अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालय आफैंले खरिद गर्ने औषधिहरुका लागि भने टेण्डर प्रक्रिया अघि बढाईसकेको छ ।

महाशाखाका अनुसार हालसम्म ५४ जिल्लाहरुले तीन लाख रुपैयाँ बराबरको औषधि खरिद गरिसकेको छ । यसका लागि टेण्डर आह्वान गर्नु पर्दैन । 

महाशाखाले त्यसरी खरिद गरिएका औषधि मध्य धेरै अस्पतालले निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । जस अनुसार २५ शैय्याको अस्पताललाई ७० प्रकारका औषधि निःशुल्क दिने, प्राथमिक स्वास्थ्य सेवालाई ५८ प्रकारका तथा हेल्थ पोष्टहरुलाई ३५ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरिएको छ ।

त्यसबाहेक नेपाल सरकारले सूचिकृत गरेको निःशुल्क औषधि बाहेक विभिन्न रोगहरुमा अत्यावश्यक पर्ने ३११ प्रकारका औषधि समेत सरकारले निःशुल्क दिने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसको लागि मन्त्रालयले प्रत्येक जिल्लालाई ३९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।विरामीको संख्या, जनसंख्या, रोगको प्रकृति तथा विभिन्न अवस्थालाई मध्यनजर गरेर मन्त्रालयले विनियोजन गरेको उक्त बजेटलाई विभागले विभिन्न शीर्षकमा बाँडफाँड गरी सम्बन्धित जिल्लाहरुमा पठाउने गरेको छ ।

त्यसरी बजेट पठाउँदा स्वास्थ्य मन्त्रालयले समग्र बजेटको २० प्रतिशत बजेटमात्र मातहतका अस्पतालहरुलाई दिने गरेको छ । त्यसबाहेक क्षेत्रलाई १० प्रतिशत तथा ७० प्रतिशत औषधि केन्द्र आफैंले खरिद गरी सम्बन्धित जिल्लाहरुलाई पठाउने गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री