मंगलबार, ११ वैशाख २०८१

लक्ष्मी पूजाको समयमा ऊर्जामन्त्री पुन भार प्रेषण केन्द्रमा

समयपोष्ट २०७७ कार्तिक २९ गते २०:०४

Advertisement

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण् केन्द्र (एलडिसी) पुग्नुभएको छ ।

देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुग्नुभएको हो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ ।

उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ ।
विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस भन्नका लागि आफैं एलडिसीमा उपस्थित भएको मन्त्री पुनले बताउनुभयो ।

‘तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मी पूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि आएको हुँ’, मन्त्री पुनले भन्नुभयो । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशबासीलाई अपिल गर्नुभयो । सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरुलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ ।

भार प्रेषण केन्द्रले देशभरको विद्युत आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत गृहबाट कति विद्युत उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ । प्राधिकरणका अनुसार शुक्रबार पिक आवरमा अधिकतम विद्युत माग १२ सय मेगावाट थियो ।

प्राधिकरणको वितरण प्रणालीमा हाल १३ सय मेगावाट विद्युत उपलब्ध छ । मागभन्दा बढी विद्युत भएकाले कतै पनि विद्युत अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । मन्त्री पुन राति अबेरसम्म भार प्रेषण केन्द्रमै रहनुहुने कार्यक्रम छ । मन्त्री पुनलाई भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत उत्पादन र वितरणको अवस्थाबारे अवगत गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री