शुक्रबार, १६ चैत २०८०

भूकम्पले क्षति पुर्‍याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

rss २०७६ कार्तिक २१ गते १२:२९


गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।

Advertisement

भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिनुभयो ।

“जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पु¥याएको हो”, उहाँले भन्नुभयो, “त्यसमध्ये प्राथामिकताका आधारमा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको छ ।” इञ्जिनीयर देवकोटाले गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाको ७० विद्यालयमा शौचालय निर्माणसमेत सम्पन्न भइसकेको बताउनुभयो ।

भवनका हिसाबले हेर्दा जिल्लामा अहिलेसम्म २९५ विद्यालयको भवन पुनःनिर्माण भएको उहाँले जानकारी दिनुभयो । “पुनःनिर्माण भएकामध्ये पनि १२० विद्यालयलाई अझै कक्षाकोठा अभाव भइरहेको भन्ने गुनासो छ”, इञ्जिनीयर देवकोटाले भन्नुभयो, “त्यसका लागि पनि अपुग विद्यालयमा थप कक्षाकोठा निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।” जिल्लामा यस वर्ष विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणमार्फत जिल्लामा चालू आवमा ६५ विद्यालय भवन निर्माण हुने एकाइले जनाएको छ । “आवश्यकताका आधारमा दुईकोठे, तीनकोठे र चारकोठे गरी यो आवमा ६५ विद्यालय भवन निर्माण गर्ने योजना रहेको छ, त्यसका लागि काम शुरु भइसकेको छ”, उहाँले भन्नुभयो ।

उहाँले यो वर्षमा गोरखामा दुईकोठे विद्यालय भवन १०, तीनकोठे पाँच र चारकोठे ५० वटा निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । भवन निर्माणका लागि स्थानीय तहहरुले आवश्यकता आधारमा प्रस्ताव पेश गर्ने र त्यसैका आधारमा एकाइले छनोट गरी पुनःनिर्माणको काम अघि बढाउने इञ्जिनीयर देवकोटाको भनाइ छ ।

जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट करीब रु ४० करोड बजेट विनियोजन भएको इञ्जिनीयर देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री