शुक्रबार, १४ वैशाख २०८१

रोशनी शाहीको ‘मेडिकल हिस्ट्री’ र पेन ड्राइभले पुर्यायो महरालाई जेल, के थियो त ?

समयपोष्ट २०७६ कार्तिक १९ गते १०:०९

Advertisement

जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन्।

इजलासले पीडितको सुरु किटानी जाहेरी, उपचार गराउन जाँदा महराले कुटपिट गरेको भन्ने ‘मेडिकल हिस्ट्री’, घटनापछि पीडितले तीनकुने सामुदायिक मार्गस्थित डेरामा घटना भएको भन्दै प्रहरीको १०० नम्बरमा गरेको फोनलाई आधार बनाएको छ।

यस्तै उक्त विवरण प्राप्त भएपछि रानीपोखरी प्रहरी प्रभागबाट बानेश्वर प्रहरी वृत्तलाई दिएको निर्देशन, बानेश्वर प्रहरीका डीएएपीले पीडितको कोठामा पुगेर गरेको घटना मुचुल्का, कांग्रेस नेतृ उमा रेग्मीलाई मोबाइलमा सुनाएको घटना विवरणले पनि घटना पुष्टि हुने इजलासको ठहर छ।

आजको अन्नपुर्णमा खबर छ,महराका सुरक्षाकर्मीले पीडितको ढोकामा पुर्‍याएको भन्दै गरेको कागज, रक्सीको बोतलसहित आएको भन्दै प्रहरीलाई दिएको जानकारी, महरा राति साढे आठ बजेसम्म सामुदायिक मार्गमै देखिएको सीसीटीभी फुटेजजस्ता प्रमाणबाट किटानी जाहेरी पुष्टि भएको विश्लेषण इजलासको छ। यस्तै कोठाबाट बरामद भएका रक्सीका गिलास, बोतल, पुरुषले लगाउने जुत्ताको तलुवा, फुटेको चस्माको डन्डी र सिसा तथा पेनड्राइभलाई प्रमाणका रूपमा लिइएको छ।

पीडित भनिएकी महिला रोशनी शाहीले टीभीमा दिएको अन्तर्वार्ता र महराका विषयमा अभियोगपत्र दायर भएपछि दिएको कागजलाई तत्काल कानुनी प्रमाणका रूपमा ग्रहण गर्न नमिल्ने निक्र्योलमा अदालत पुगेको छ। शाहीले शरीरमा घाउचोट लागेपछि मेडिकलमा उपचार गराउन जाँदा ‘केस हिस्ट्री’ मा महराले हातपात गरेको भन्दै उल्लेख गरेको विषयलाई अदालतले थुना आदेशमा ठोस प्रमाणका रुपमा ग्रहण गरेको छ।

पीडित शाही सोमबार पनि आफ्ना कुरा राख्न इजलासमा पुगेकी थिइन्। अभियोगपत्र दायर हुनुअघि र पछि पनि उनले भनेका कुरा इजलासको जानकारीमा रहेको भन्दै बोल्न रोक लागाउने गरी इजलासबाट रुलिङ भएको थियो। त्यसपछि शाही इजलासबाट बाहिरिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री