मंगलबार, १ जेठ २०८१

यी महिला जसलाई ‘प्यास लागेकै कारण’ पाकिस्तानले सुनायो मृत्युदण्डको सजायँ

समयपोष्ट २०७५ असोज २३ गते ९:१२

पाकिस्तानको सडकमा हिँड्दै गर्दा यदि तपाईंले आसिया बीबी को हुन् भन्ने प्रश्न सोध्नुभयो भने उत्तरमा पाउनुहुनेछ, ‘आसिया बीबी ती हुन् जसले पेगम्बर मोहम्मदको अपमान गरेकी थिइन् र यसका लागि उनलाई मृत्युदण्डको सजायँ सुनाइएको छ ।’

Advertisement

तर यो सायद सही जवाफ नहोला किनभने आसिया बीबी अर्थात् आसिया नूरिन पाकिस्तानकी पहिलो इसाई महिला हुन् जसले कथित रुपमा पेगम्बर मोहम्मदको अपमान गरेको भन्दै मृत्युदण्डको सजायँ पाएकी छिन् । सन् २०१० मा दोषी ठहराएपछि आसिया बीबी जेलभित्र छिन् ।

त्यसपछि आसिया बीबीका वकिलले थुप्रै पटक उनको मृत्युको सजाय माफ गर्ने कोसिस गरिसकेका छन् । सन् २०१६ मा पनि सर्वोच्च अदालतमा सजायमाथि पुनर्विचारको निवेदनमा सुनुवाई भएको थियो ।

त्यसपछि सन् २०१८ को अक्टोबर ८ तारिखमा आसिया बीबीका वकिलले एकपटक पुनः सर्वोच्च अदालतमा उनको सजायमाथि पुनरावलोकनका लागि निवेदन दिए ।

सर्वोच्च अदालतले यो मुद्दामा सुनुवाईपछि आफ्नो निर्णयलाई सुरक्षित राखेको छ ।

Advertisement

घटना सन् २००९ को हो जब एकदिन आसिया नूरिन घर नजिकैको बगैंचामा काम गरिरहेका बेला आफूसँग काम गर्ने अन्य महिलाहरुसँग उनको झगडा पर्यो ।

आसियाले आफ्नो किताबमा यो घटनालाई सिलसिलेवार ढङ्गले बयान गरेकी छिन् ।

अंग्रेजी वेबसाइट न्यूयोर्क पोष्टमा छापिएको यो किताबको अंशमा आसिया लेख्छिन्, ‘म आसिया बीबी हुँ जसलाई प्यास लागेका कारण मृत्युको सजायँ दिइएको छ । म जेलमा छु किनभने मैले त्यही कपबाट पानी पिएँ जसमा मुस्लिम महिला पानी पिउँथे । किनभने एक ईसाई महिलाको हातबाट दिएको पानी पिउनु मसँग काम गर्ने महिलाका अनुसार गलत हो ।’

१४ जूनको घटनाबारे जानकारी दिँदै आसिया लेख्छिन्, ‘मलाई आज पनि सन् २००९ जून १४ तारिखको त्यो दिन निकै राम्रोसँग याद छ । यो तारिखसँग जोडिएका हरेक कुरा याद छ । त्यो दिन म बगैंचामा काम गरिरहेको थिएँ । आकासबाट आगो बर्सिरहेको थियो । दिउँसो यति धेरै गर्मी चढेको थियो कि आगोको भट्टीमा काम गरिरहेको जस्तो महसुस भइरहेको थियो । म पसिनाले भिजिसकेकी थिएँ । यति धेरै गर्मी थियो कि मेरो शरिरले काम गर्न बन्द गरिसकेको थियो ।’
‘म झाडीबाट निस्किएर नजिकै बनेको कुवामा पुगें र कुवामा बाल्टी राखेर पानी निकालें । त्यसपछि मैले कुवामा राखिएको एउटा ग्लासलाई बाल्टीमा राखेर पानी पिएँ । तर जब मैले एक महिलालाई मेरैजस्तो अवस्थामा देखें तब मैले उसका लागि पनि पानी निकालेर दिएँ । त्यतिबेला एक महिलाले चिच्याएर त्यो पानीलाई एक इसाई महिलाले अशुद्ध गरेकाले नपिउन आदेश दिइन् ।’

आसिया लेख्छिन्, ‘मैले यसको जवाफमा ‘मलाई लाग्छ कि जिसस क्राइस्टले यो घटनालाई पेगम्बर मोहम्मदभन्दा भिन्न नजरले हेर्नेछन्’ भनें । त्यसपछि उनीहरुले ‘पेगम्बर मोहम्मदबारे केही बोल्ने आँट कसरी गरिस् ?’ भनेर तथानाम गाली गरे । यदि यो पापबाट मुक्ति चाहिन्छ भने मैले इस्लाम स्विकार गर्नुपर्ने पनि बताइयो । ’

‘मलाई यो सुनेर निकै नराम्रो लाग्यो किनभने मलाई आफ्नो धर्ममा विश्वास छ । त्यसपछि मैले भनें, ‘म धर्म परिवर्तन गर्दिनँ किनभने मलाई ईसाई धर्ममा विश्वास छ ।’ जिसस क्राइस्टले मानवताका लागि आफ्नो ज्यान दिए । तपाईंको पेगम्बरले मानवताका लागि के गरेका छन् ?’

पाकिस्तानी समाचार वेबसाइट डन भन्छ, ‘आसियाका वकिल सैफुल मुलूकले तीन न्यायाधिसको बेन्चलाई यो मुद्दा पानी पिउने कुराबाट सुरु भएको जानकारी दिए ।’त्यसपछि पाकिस्तानका मुख्य न्यायाधिसले भने, ‘यो कस्तो मामला हो जसमा एक व्यक्तिविरुद्ध गलत शब्दको प्रयोग गरिन्छ र मुद्दा पनि त्यही व्यक्तिविरुद्ध नै हालिन्छ ?’

कुवा नजिकै भएको बहसको केही हप्तापछि यो घटना सामान्य बहसबाट उठेर इशनिन्दासम्म पुग्यो र उनलाई सजायँ दिइयो ।

त्यसको एक महिनापछि पंजाबका तत्कालीन राज्यपाल सलमान तासिर आसिया बीबीलाई भेट्न गए र उनले पाकिस्तानको इशनिन्दाको कानूनको निन्दा गरे ।

तर त्यसको केही दिनपछि सलमानका अंगरक्षक मुमताज कादरीले नै उनको हत्या गरिदिए ।

यतिमात्र होइन, दुई महिनापछि जब अल्पसंख्यक मामलाका मन्त्री शाहबाज भट्टीले इशनिन्दाको कानूनको निन्दा गर्दा उनीमाथि पनि हमला भयो जसमा उनको मृत्यु भयो ।

आसिया बीबीले पाएको सजायँको मामलामा उनका श्रीमानले सन् २०१४ मा लाहौर हाईकोर्टमा पुनरावेदन दाखिल गरे जसलाई खारेज गरियो ।

त्यसपछि सन् २०१५ मा पाकिस्तानको सर्वोच्च अदालतले आसिया बीबीले अपिल गरेपछि मृत्युदण्डको सजायँलाई स्थगित गरियो ।

त्यसपछि विभिन्न प्रयासपछि सन् २०१८ मा आसिया बीबीको मामलामा पाकिस्तानी सर्वोच्च अदालतले सुनुवाई गरेको छ ।

तर यदि आसिया बीबीले यसपटक पनि अदालतको तर्फबाट राहत पाइनन् भने उनले पाकिस्तानका राष्ट्रपति सामू सजायँ माफीका लागि निवेदन दिनुपर्ने हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री