शुक्रबार, ७ वैशाख २०८१

रोल्पाबाट दिल्लीको लागि सिधा बस सेवा , अनलाइनबाट टिकट लिन सकिने

समयपोष्ट २०७४ असोज ३० गते ८:०७

रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ। यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो।
 
सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ। हरेक हप्ताको बुधबार रोल्पा सदरमुकाम लिवाङ बाट, प्यूठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु गरिएको छ । यसैगरी हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको रोल्पा यातायात प्रालिले जानकारी दिएको छ। डिलक्स सेवाको आरामदायी बस रहेकाले यात्रा सुरक्षित र भरपर्दो हुने प्रालिको दावी छ।
 
यसअघि सो प्रालिले काठमाडौँ, नेपालगञ्ज र दाङजस्ता शहरमा दिवा तथा रात्रि बस सेवा शुरु गरेको थियो। प्रालिले जिल्लामै पहिलोपटक अनलाइन टिकट प्रणालीको समेत शुरुवात गरेको बताएको छ।
 
यात्रुले ई सेवा प्रयोगकर्ता तथा नजिकको ई सेवा जोन प्वाइन्ट, अनलाइन पेमेन्ट, बस सेवा, आइएमइ एजेन्ट तथा विभिन्न स्थानमा रहेका इपेका किओस्क टर्मिनलबाट अनलाइन टिकट लिन सकिने बताइएको छ।
 
रोल्पामा जलजला यातायात व्यवसायी समिति, जलजला यातायात प्रालि र रोल्पा यातायात प्रालिले जिल्लाका भित्री सडकका साथै प्यूठान, दाङ, नेपालगञ्ज, बुटवल र काठमाडौं सम्म सेवा पुर्‍याउँदै आएका छन् । रासस 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री