बिहीबार, ३ जेठ २०८१

कसरी कसिलो बनाउन सकिन्छ योनि ?

समयपोष्ट २०७६ कार्तिक १३ गते ९:३६

Advertisement

डा. सुमनराज ताम्राकार

योनि कसरी खुकुलो हुन्छ ? खुकुलो भइहाले कसरी कसिलो बनाउन सकिन्छ ?

 जिज्ञासा : बी, काठमाडौं

यौनबारे खुल्ला रूपमा कुरा गर्न परहेज गरिने अथवा यसो गरेमा नकारात्मक तवरले हेरिने भएकाले यौनसम्बन्धी चासो भए पनि कतिपयले यसबारे खुलेर कुरा गर्न अप्ठ्यारो मान्ने गर्छन् । जिज्ञासाका प्रस्ट उत्तर नपाउँदा गलत धारणा विकसित हुन सक्छ । यस्तै विषयमध्ये महिलाको योनि खुकुलो पनि एक हो । जति धेरै यौनसम्पर्क राख्यो, योनि त्यति नै खुकुलो हुँदै जान्छ भन्ने गलत धारणा छ । अर्थात्, अधिकांशको धारणा यौनसम्पर्क नराखेको योनि कसिलो हुन्छ र यौनसम्पर्क राख्न थालेसँगै खुकुलो हुँदै जान्छ भन्ने छ । यही कारणले पनि वर्षौंदेखि महिलालाई लज्जित बनाइरहेको छ । र, उनीहरूको आत्मविश्वासमा कमी आउने र भावी दाम्पत्य जीवनलाई लिएर असुरक्षित महसुस गर्ने गरेको पाइन्छ ।

Advertisement

सबैको शरीर फरक–फरक भएजस्तै योनि पनि फरक–फरक हुन्छन् । कतिपयको प्राकृतिक रूपमा अलि खुकुलो त कसैको कसिलो हुन्छ । मानिसहरूको यौन प्राथमिकता र चाहना पनि फरक–फरक हुन्छन् । कतिपय महिलालाई तुलनात्मक रूपमा अलि ठूलो आकारको लिंगबाट यौन चाहना मेटाउने इच्छा हुन्छ भने कतिपय महिलालाई यही ठूलो लिंग समस्याको विषय हुन सक्छ । योनि आपैmँमा तन्किने शारीरिक अंग हो । यौनसम्पर्कको संख्यासँग योनि खुकुलो हुनुको कुनै सम्बन्ध छैन । सुत्केरी व्यथाको क्रममा बच्चा जन्मिन पर्याप्त हुने गरी वा पुरुष लिंग मात्र अट्ने गरी पनि योनि फुक्छ र त्यसपछि पूर्व अवस्थामा फर्किन सक्छ ।

यौन गतिविधिसँगै महिलामा यौन उत्तेजना बढ्न थाल्छ, योनि रसाउन थाल्छ र यौनसम्पर्क राख्न सम्भव हुन्छ । पुरुषको लिंगको आकारअनुसार योनि आपैmँलाई के गर्नुपर्छ, थाहा हुन्छ । त्यसैले यौनसम्पर्क राख्दैमा योनिमा दीर्घकालीन रूपमा चोट पुग्ने र च्यातिने अनि खुकुलो हुने हुँदैन । कतिपय महिला तथा पुरुषलाई सामान्य आकारको योनि पनि खुकुलो लाग्न सक्छ भने कतिपयलाई त्यही नै कसिलो लाग्न सक्छ ।

खुकुलो योनिको सवालमा जति बढी समय बेडमा खर्चियो, योनि त्यति नै खुकुलो हुन्छ भन्ने मिथ्या धारणा छ । न्युयोर्ककी स्त्रीरोग विशेषज्ञ एलिसा ड्वेकका अनुसार अप्राकृतिक तवरले यौनसम्पर्क राखेको खण्डमा मात्र योनि खुकुलो हुने सम्भावना हुन्छ । ‘योनि लचिलो अंग हो,’ उनले भनेकी छिन्, ‘यसमा यति धेरै स्नायु अनि रगत प्रवाह हुन्छ कि यौन कार्यले योनिलाई दीर्घकालीन रूपमा खुकुलो बनाउँदैन । यौन उत्तेजनासँगै योनि प्राकृतिक रूपमा रसिलो–ओसिलो हुन्छ । पुरुष लिंग समाहित हुने गरी फुक्छ । र, यौन उत्तेजना सेलाएसँगै क्रमशः पूर्व अवस्थामा फर्किन्छ ।’

ड्वेकले थपेकी छिन्, ‘सुरुका यौनसम्पर्कका क्रममा कुमारी झिल्ली च्यातिने कारण योनिको प्वाल अलि ठूलो हुन गएको आभास हुने हो तर योनिमार्ग पूरै खुकुलो वा ठूलो हुने होइन । घोडचढी, साइक्लिङ, खेलकुदका कारणले पनि यौनसम्पर्कपूर्व कुमारी झिल्ली च्यातिइसकेको हुन सक्छ ।’

क्यालिफोर्नियाकी स्त्रीरोग विशेषज्ञ सेरी रोस कतिपय पार्टनरको लिंगको आकारका कारण योनिको प्वाल अलि ठूलो हुन सक्ने तर पूरै योनिमार्ग ठूलो नहुने बताउँछिन् । ‘योनिले पुरुष लिंगलाई आत्मसात् गरेको हुन्छ,’ उनले भनेकी छिन्, ‘बच्चा पाउने क्रममा साँच्चिकै योनिको प्वाल अनि योनिमार्ग फुक्न आवश्यक छ । बच्चा पाउन तथा ठूलो आकारको लिंग ग्रहण गर्न योनि लचिलो भयो भन्दैमा अनुभूति नै हुने गरी खुकुलो हुने होइन ।’ एक पटक अलिकति खुकुलो भइसकेको योनि जिन्दगीभर उही आकारमा रहिरहन्छ भन्ने धारणा गलत भएको रोसको भनाइ छ । भन्छिन्, ‘रजनोवृत्तिसँगै महिलाको शरीरमा इस्ट्रोजेनको मात्रा घट्न थालेपछि योनि चाउरिएर वा ढल्किँदो उमेरमा यौनसम्पर्कको मात्रा घट्न गएर तुलनात्मक रूपमा योनि कसिलो भएको आभास हुन सक्छ ।’ खुकुलो योनिको विषयलाई पुरुषले उछालेको रोेस बताउँछिन् । ‘वास्तवमा पुरुषलाई यो मामिलामा त्यति ज्ञान हुँदैन,’ उनी भन्छिन्, ‘अर्थात्, पुरुषले योनिमा आएको फरकपन थाहा पाउनै सक्दैन । पुरुषले किशोरी वा महिला कुमारी छिन् कि बच्चा पाइसकेकी हुन् भन्ने जानकारीको आधारमा योनि खुकुलो वा कसिलो हुन्छ भन्ने धारणा बनाउँछन् ।’

के भएर योनि खुकुलो हुन्छ त ? उमेर बढेसँगै शरीरमा अन्य अंग कमजोर हुँदै गएजस्तै योनिले पनि पहिलेजस्तै व्यवहार नगर्न सक्छ । जब योनिको मांसपेशी कमजोर हुन थाल्छ, बच्चा पाएसँगै वा यौनसम्पर्क राख्न थालेपछि सानो आकारमा खुम्चिन गाह्रो हुन्छ । त्यसैले उमेर ढल्केकी महिलाले बच्चा पाएपछि योनि खुकुलो हुने सम्भावना अलि बढी हुन्छ । तर, योनि खुकुलो हुनुको मुख्य कारण चाहिँ योनिबाट बच्चा पाउने कार्य नै हो । योनिको भित्तामा चोट पुग्ने वा च्यातिने गरी वा औजारका माध्यमबाट बच्चा पाउँदा योनि खुकुलो हुने सम्भावना अलि बढी हुन सक्छ ।

योनि तथा यस वरिपरिको मांसपेशी कसिलो बनाउन किगल कसरतले मद्दत गर्छ ।। पिसाब गर्दागर्दै अपर्भmट पिसाब रोक्नुपर्ने अवस्था आउँदा जसरी पिसाब रोकिन्छ,  यसै विधिलाई अपनाएर योनिद्वार वरिपरिका मांसपेशी कसिलो बनाउने कसरतलाई किगल कसरत भनिन्छ । यस कसरतमा योनि क्षेत्रको मांसपेशी खुम्च्याएर राख्ने र खुकुलो पार्ने गरिन्छ । यस्तो खालको कसरत प्रसवोत्तर समयमा वा अन्य बेला (हाँस्दा, खोक्दा वा गह्रुँगो भारी उठाउने बेला) मा पिसाब फुस्किने भएका महिलाको लागि पनि फाइदाजनक हुन्छ ।

यसका साथै योनिमार्गमा क्रमागत रूपमा विभिन्न तौलका कोन आकारको वस्तु अड्याउने अभ्यास गर्न सकिन्छ । यसै गरी, इलेक्ट्रोथेरापी तथा चुम्बकयुक्त विशेष कुर्सीका माध्यमबाट योनि कसिलो बनाउन सकिन्छ । यसबाहेक योनिमार्गसम्बन्धी शल्यक्रिया वा लेजर थेरापीले पनि फाइदा पुग्न सक्छ । साँच्चिकै योनि खुकुलो हुँदा खुकुलोपनमा ध्यान नदिई प्राक्क्रीडा, यौन आनन्दका वैकल्पिक उपायबाट यथेष्ट यौन सन्तुष्टि लिन सकिन्छ । सम्पूर्ण साप्ताहिकबाट

योनि कसरी खुकुलो हुन्छ ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री