शनिबार, १ कार्तिक २०८२

तीन महिनाभित्र विश्वविद्यालयहरूलाई नतिजा प्रकाशित गर्न निर्देशन, नगरे अनुदान रोक्का

समयपोष्ट २०८२ असोज ७ गते १९:४२


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयका कर्मचारीहरूलाई विभिन्न निर्देशन जारी गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिएको जानकारी गराएका छन्।

Advertisement

मन्त्री पुनले नेपालभरिका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिएका छन्। यो कदमले विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न ८ महिनादेखि १ वर्षसम्म लगाउने गरेको भन्दै मन्त्री पुनले यसलाई विद्यार्थीहरूको लागि अपूरणीय क्षति भएको बताए। उनले विश्वविद्यालयहरूलाई परीक्षा समाप्त भएको तीन महिनाभित्र अनिवार्य रूपमा नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन्। समयमा नतिजा प्रकाशन नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने उनले चेतावनी दिए।

मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको ठूलो क्षेत्रफलको झाडी फाँडेर (ठूला रूखहरू नकाट्ने गरी) सफा गर्न र सुन्दर बगैंचा सहित फुटपाथ निर्माण गरेर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री