देशभर प्रदर्शन चर्किएपछि आज बैंक तथा वित्तीय संस्था बन्द

देशभर जेनजीको प्रदर्शन तीव्र बनेपछि बैंक तथा वित्तीय संस्थाहरू मंगलबार बन्द रहने भएका छन्। प्रदर्शनकारीमाथि राज्यले दमन गरेको भन्दै आक्रोश बढेसँगै सुरक्षाको कारण देखाउँदै नेपाल बैंकर्स संघले बैंकका शाखाहरू नखोल्ने निर्णय गरेको हो।
जेनजीको प्रदर्शनलाई नियन्त्रण गर्न प्रशासनले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरेको छ भने देशका विभिन्न सहरमा कर्फ्यु लागू गरिएको छ। यही परिस्थितिलाई मध्यनजर गर्दै नेपाल बैंकर्स संघले मंगलबार बैंकका शाखाहरू सञ्चालन नगर्ने निर्णय गरेको छ।
“निषेधाज्ञा जारी भएको क्षेत्रमा बैंकका शाखाहरू खोल्न सम्भव छैन। निषेधाज्ञा नलागेका स्थानमा पनि कर्मचारीहरूको आवतजावतमा कठिनाइ र सुरक्षा जोखिमका कारण शाखा सञ्चालन गर्न सकिँदैन,” बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने। उनले यो निर्णय नेपाल राष्ट्र बैंकसँगको समन्वयमा गरिएको जानकारी दिए।
बैंकर्स संघले प्रदर्शन देशका अन्य भागमा पनि फैलन सक्ने र बैंक तथा वित्तीय संस्थाहरूमा तोडफोड तथा आगजनीको जोखिम रहेको निष्कर्ष निकालेको छ।
सोमबारको प्रदर्शनमा राज्यले हिंसात्मक कदम चालेको भन्दै १९ जनाको मृत्यु भएको छ भने सयौं युवा घाइते भएका छन्। मंगलबारको सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा कर्फ्यु लागू गरिएको छ।
प्रदर्शनकारीहरूले सरकारको रवैयाविरुद्ध नाराबाजी र सडक अवरोध गरिरहेका छन्। स्थिति तनावपूर्ण बन्दै गएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।




























प्रतिक्रिया