शुक्रबार, १६ चैत २०८०

नयाँ बसपार्कमा यात्रुको चहलपहल बढ्यो

समयपोष्ट २०७९ असोज १० गते २१:३९

Advertisement

हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो ।

देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो ।

घटस्थापना सुरु भएसँगै आजदेखि घर जानेमा अधिकांश बालबालिका, विद्यार्थी र बालबालिकाको आमाबाबु रहेका छन् । दसैँ सुरु भएसँगै बालबच्चाको बिदा सुरु भएकाले घर जान हिँडेको अर्घाखाँचीकी देविका पौडेल बताउनुहुन्छ । रोल्पा जानका लागि हिँडेका पवन ओली कक्षा १२ मा पढ्नुहुन्छ । कलेजले बिदा दिएकाले आफू बडादसैँ मनाउन घर जान लागेको उहाँले सुनाउनुभयो । दसैँ सुरु भएसँगै आजदेखि लामो दूरीका सवारीसाधन भरिन थालेका छन् ।

सरकारले लामो तथा मध्यम दुरीका यात्रुलाई दसैँमा सहज घर जानका लागि गत असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुला गरेको थियो । छोटो दुरीका सवारी साधनका लागि पनि टिकट बुकिङ खुला भइसकेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल लामो तथा मध्यम दूरीमा जाने यात्रुका लागि असोज १ देखि खुला गरिएको टिकट बुकिङमा हालसम्म ७० हजार यात्रुले अग्रीम टिकट लिएको बताउनुहुन्छ । छोटो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङ खुला भएको छ । काठमाडौँदेखि पोखरा, बाग्लुङ, पर्वत, गोरखा, लमजुङ, रसुवा, धादिङ, नुवाकोटलगायतमा जाने यात्रुका लागि लक्षित गरी अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवं प्रवक्ता डेकनाथ गौतमले गत वर्षको तुलनामा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्ने बताउनुहुन्छ । “दसैँ लगत्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएकाले विगत वर्षभन्दा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्छ”,उहाँ भन्नुहुन्छ । महासचिव गौतमका अनुसार यसवर्ष उपत्यकाबाट २० लाखभन्दा बढी यात्रुहरु दसैँ मान्नका लागि बाहिरिन्छन् ।

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर ‘रुट परमिट’ समेत खुला गरेको छ । आजदेखि दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी उक्त व्यवस्था गरेको हो । रुट परमिट खुला गरेसँगै व्यवसायीले यात्रुलाई सहज गन्तव्यसम्म लैजानका लागि परेका छन् ।

महासङ्घका सल्लाहकार एवं पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल यात्रुलाई सहज रुपमा सेवा प्रदान गर्न प्रालिको कोषबाट चालकलाई पैसा दिएर सेवामा समर्पित गराएको बताउनुहुन्छ । “व्यवसायी आफ्नो सेवामा कटिबद्ध छौँ, वर्षाले बिग्रेका बाटो सरकारले समयमै मर्मतसम्भार गरे यातायात आवतजावतमा सहज हुने थियो”, उहाँ भन्नुहुन्छ । पश्चिम नेपालसहित अधिकांश व्यवसायीले यात्रुलाई सहज सेवा प्रदान गर्न प्रालिको कोषबाट बजेट विनियोजन गरी सेवामा समर्पित भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, साङ्गा, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री