बिहीबार, २० वैशाख २०८१

महाकाली लोकमार्गमा चालु आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण हुने

समयपोष्ट २०७८ भदौ ३१ गते १९:३१

Advertisement

कञ्चनुपरको ब्रह्मदेवदेखि दार्चुला टिङ्करसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी छ वटा ठाउँमा पुल निर्माण हुने भएको हो ।

पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिङ्कर सडक योजना प्रमुख आशुतोष कर्णले बताउनुभयो । उहाँका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा दुई वटा, बैतडीको नीलगाड र कसानी खोलामा दुई वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा दुई ठाउँमा पक्की पुल निर्माण हुनेछन् ।

आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु गरिएको यो सडकखण्डले गति लिएको छैन । अहिले सडकको ट्र्याक खुलाउने, ब्याक किट तथा पुल निर्माणको काम सँगसँगै अघि बढाउन लागिएको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म कूल ४२५ किलोमिटर सडक पर्दछ भने खलङ्गा सदरमुकामदेखि टिङ्कर ३० किलोमिटर दूरी रहेको छ ।

टिङ्कर सडक योजनाका अनुसार महाकाली लोकमार्गको दार्चुलामा ९० किलोमिटर, बैतडीमा ५७ किलोमिटर र डडेल्धुरामा १३ किलोमिटर सडकको अस्थायी ट्र्याक खुलाइएको छ । यो सडकखण्डको त्रिदेशीय नाका टिङ्कर जोड्ने गरी ८७ किलोमिटर सडकखण्डको ट्र्याक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

Advertisement

नेपाली सेनाले चालु आर्थिक वर्षदेखि काम थालेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले बताउनुभयो । महाकाली लोकमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा कूल एक अर्ब तीन करोड बजेट विनियोजन भएको छ । सोमध्ये नेपाली सेनालाई रु २२ करोड ५० लाख छुट्याइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री