शुक्रबार, १६ चैत २०८०

आन्तरिक पर्यटकलाई लक्षित गरेर पर्यटक बस सञ्चालन गर्ने तयारी

समयपोष्ट २०७७ भदौ ३१ गते ११:२५

Advertisement

पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि) असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् ।

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । झण्डै छ महिनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको हो ।

“पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर मात्र बस सञ्चालन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेको उहाँको भनाइ छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । कोभिड–१९ का कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बससेवा सञ्चालन गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो ।

हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

टिवानका महासचिव दीपेन्द्र अधिकारीले सरकारले पर्यटक बससेवालाई प्राथमिकता दिन नसकेको बताउनुभयो । “मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटक क्षेत्रको बसका लागि सरकारले छुट्टै बसपार्क निर्माण गर्नुपर्छ, जसका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु पर्यटक बसपार्कमा गएर बस चढेर गन्तव्यस्थलसम्म पुग्न सक्छन्”, उहाँ भन्नुहुन्छ ।

केही दिनपहिला नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले गरेको भर्चुअल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । मन्त्री भट्टराईले पर्यटक बसपार्क निर्माणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनुभयो ।

कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका थिए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री