शुक्रबार, ७ वैशाख २०८१

यस वर्ष पनि भूकम्पपीडितको दसैँ टहरोमै

समयपोष्ट २०७४ असोज ५ गते ३:२६

बाढीपीडितको दसैँ पनि छाप्रोमै

Advertisement

दुई वर्षअघि आवास गुमाएका झन्डै ६ लाख भूकम्पपीडितले यस वर्षको दसैँ पनि छाप्रोमै मनाउने भएका छन् । निजी आवास निर्माण सुस्त हुँदा उनीहरू टहरोमै दसैँ मनाउन बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मुलुकभर ६ लाख ३७ हजार पाँच सय १८ भूकम्पपीडितसँग अनुदान सम्झौता भएको थियो ।

त्यसमध्ये ४८ हजार नौ सय २६ ले मात्रै निजी आवास निर्माण गरेका छन् । बाँकी पाँच लाख ८८ हजार ६ सय ९२ भूकम्पपीडितले अझै घर बनाउन सकेका छैनन् ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले निजी आवास नबन्नुमा पीडित नै दोषी रहेको दाबी गरे । ‘भूकम्पपीडितले पहिलो किस्ता सजिलै लगे, तर दोस्रो किस्ता लिन आएनन् । घर बनाइदिने काम प्राधिकरणको होइन । पीडितले नै घर बनाउन ढिला गरेपछि यसमा के भन्न सकिन्छ र ?’ उनले भने ।

०७५ असार मसान्तसम्म निजी आवास बनाइसक्नुपर्ने
प्राधिकरणका अनुसार भूकम्पपीडितले ०७५ को असार मसान्तसम्मा निजी आवास निर्माण गरिसक्नुपर्नेछ । त्यसभन्दा पछि बनेका घरलाई प्राधिकरणले अनुदान रकम दिनेछैन । आगामी मंसिरसम्म सबै भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम लिइसक्नुपर्नेछ । तर, अहिलेसम्म ७५ हजार ६ सय ७२ भूकम्पपीडितले मात्रै दोस्रो किस्ताबापतको अनुदान रकम बुझेका छन् ।

पाँच लाख ६१ हजार नौ सय ४६ भूकम्पपीडितले अझैसम्म दोस्रो किस्ताबापतको रकम लगेका छैनन् । अबको दुई महिनाभित्र दोस्रो किस्ताबापतको सबै अनुदान रकम वितरण सम्भव छैन । ‘निजी आवास निर्माणका लागि प्राधिकरणले समय अवधि तोकेको छ, त्यस अवधिसम्ममा सबैले निजी अवास बनाइसक्नुपर्नेछ, नत्र अनुदान रकम पाइँदैन,’ प्रवक्ता भुसालले भने ।

अनुदानमा मात्रै साढे ४२ अर्ब सकियो
प्राधिकरणले भूकम्पपीडितलाई पहिलो, दोस्रो र तेस्रो किस्ताबापत अहिलेसम्म ४२ अर्ब ३१ करोड ६२ लाख ५० हजार रुपैयाँ वितरण गरेको छ । पहिलो किस्ताबापत ६ लाख सात हजार एक सय १३ जनाले ३० अर्ब ३५ करोड ५६ लाख ५० हजार रुपैयाँ लगेका छन् । दोस्रो किस्ताबापत ७५ हजार ६ सय ७२ पीडितले ११ अर्ब ३५ करोड आठ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै, तेस्रो किस्ताबापत ६० करोड ९८ लाख रुपैयाँ वितरण भइसकेको छ । ६ हजार ९८ भूकम्पपीडितले सो रकम बुझेका हुन् ।

बाढीपीडितको दसैँ पनि छाप्रोमै
गत २७ साउनमा आएको बाढीले तराईका २७ जिल्ला डुबानमा परे । १६१ जनाले ज्यान गुमाए भने ५० भन्दा धेरै घाइते भए । ८० हजारभन्दा धेरै घर पूर्ण रूपमा र एक लाख ४४ हजार चार सय ४४ घरमा आंशिक क्षति पुग्यो । बाढीपीडितको अझै पुनस्र्थापना हुन सकेको छैन । उनीहरू खेतको गरामा बनाइएका टहरामै बस्न बाध्य छन् । यस वर्ष बाढीपीडितको दसैँ टहरोमै बित्ने भएको छ ।

गृहप्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बाढीपीडितिको पुनस्र्थापना गर्ने जिम्मा मन्त्रालय नभएको बताए । ‘बाढीपीडितलाई उद्धार गर्ने काम गृह मन्त्रालयअन्तर्गतका निकायले गर्छ, तर पुनस्र्थापना गर्ने काम गृहको होइन,’ उनले भने ।

दैनिक ७० रुपैयाँ भत्ता रोकियो
सरकारले बाढीपीडितलाई दैनिक ७० रुपैयाँ भत्ता दिने घोषणा गरेको थियो । गृह मन्त्रालयका अनुसार प्रदेश नं. २ मा भएको निर्वाचनका कारण दैनिक वितरण हुने ७० रुपैयाँ भत्ता रोकिन पुगेको छ । ‘अहिले दैनिक ७० रुपैयाँ वितरण कार्यक्रम रोकिएको छ ।

निर्वाचनका कारण पीडितलार्ई भत्ता दिन सकिएन,’ गृहप्रवक्ता सुवेदीले भने । मन्त्रालयका अनुसार अघिल्लो महिना ४० हजार बाढीपीडितलाई दैनिक ७० रुपैयाँको दरले प्रत्येक दिन भत्ता बाँडिएको थियो । सरकारले अहिलेसम्म बाढीपीडितलाई भत्तास्वरूप आठ करोड ४० लाख रुपैयाँ बाँडिसकेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री