शुक्रबार, १४ वैशाख २०८१

मधेशी जनतालाई संबोधन गर्दै प्रचण्डले भने, ‘मधेसको सच्चा हिमायती माओवादी मात्र हो’

समयपोष्ट २०७४ भदौ २८ गते १३:३४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएका छन् । 

Advertisement

सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गरे। 

संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाए नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि उल्टिने र पुनः २०४६ र ४७ सालको अवस्थामा मुलुक फर्किने खतरा रहेको समेत उनले बताए । 

पूर्वप्रधानमन्त्री दाहालले भने, “संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी शक्ति माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ । त्यसैले यो अवसरलाई सही ढंगबाट सदुपयोग गर्नुहोला ।” मधेसको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष दाहालले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेशी नेता आफ्नो पार्टीमा प्रवेश गरिरहेको उल्लेख गरे । 

आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र त्यहाँका जायज माग सम्बोधन गर्न धेरै मिहिनेत गरेको बताउँदै उनलेमधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गरे। तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको पनि अध्यक्ष दाहालले बताए । 

मधेस र मधेसीको समृद्धि र विकासमा लाग्ने हामी हौं  
सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोलदै अध्यक्ष प्रचण्डले नेकपा आफ्नो पार्टी मधेस र मधेसी जनताप्रति अत्यन्त संवेदनशील रहेकाले मधेसी जनताले आउँदो स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीलाई विजय गराउने विश्वास व्यक्त गरेका छन् । 
देशका दुई ठूला पार्टी नेपाली काँग्रेस र नेकपा ९एमाले०ले मधेस र मधेसीप्रति शोषण मात्रै गरेको र झुठो आश्वासन दिएर ठग्दै आएको तर आफ्नो पार्टी मधेस र मधेसीको समृद्धि र विकासमा लागेको बताए । 
उनले मधेसी दलसँग आफ्नो पार्टी तालमेल मिलाउन खोजेको तर मधेसी दलहरुभित्र विवाद, तनाव र खिचातानी रहेकाले तालमेलमा समस्या भएको स्पष्ट गरे । 
आफू प्रधानमन्त्री हुँदा तराई मधेसको डुवान समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेको बताउँदै उनले तराईको हुलाकी राजमार्ग र सिँचाइको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताए । 
यसअघि अध्यक्ष प्रचण्डले सप्तरीका सुरक्षा निकायसँग सप्तरीको सुरक्षा अवस्था र निर्वाचनका बारेमा जानकारी लिएका थिए । त्यस्तै उनले आज बिहान सप्तरीका उद्योगी व्यवसायीसँग समेत सप्तरीको राजनीतिक अवस्था र व्यावसायिक अवस्थाबारे छलफल गरेका थिए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री