शुक्रबार, १४ वैशाख २०८१

‘यौन शोषणका लागि हुने मानव बेचबिखनको स्वरुपमा समयसापेक्ष जटिलता थपिदैं’

समयपोष्ट २०७४ भदौ २० गते १०:५०

आस्था केसी
अवको गन्तव्य मानव बेचबिखनको अन्त्य भन्ने मूल नाराकासाथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको ११औं राष्ट्रिय दिवश मंगलबार देशभरी मनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा भृकुटीमण्डप देखि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानसम्म प्रभातफेरी गरिएको थियो। 
प्रभातफेरी लगत्तै आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख ओनसरी घर्तीले नेपाल बिगतमा मानब बेचबिखनको मुख्य श्रोत रहेको र अहिले ट्रान्जिट प्वाइन्ट बनेको बताइन् । मानव बेचबिखन तथा ओसारपसार मानव बिरोधी गम्भिर अपराध भएको बताउँदै सभामुख घर्तीले यसका बिरुद्ध सबैजना एक भएर जनचेतना जगाउने आवश्यकता औंल्याइन्। 
संबिधान कार्यान्वयनका लागि तिन तहको चुनाव वेलैमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको काँधमा रहेको भन्दै सभामुख घर्तीले राजनीतिक स्थिरताका लागि संबिधानले देखाएबमोजिम अगाडि बढ्नुपर्ने जिकिर गरिन्।

Advertisement

m2
कार्यक्रमकी अध्यक्ष महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिगतमा खुला सिमानाका कारण यौन शोषणका लागि बेचबिखन हुने गरेकोमा केही बर्ष यता नेपालका आन्तरिक बजार र बैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनले बेचबिखनको आयाम र स्वरुपमा समयसापेक्ष जटिलता थपेको बताइन्। 
चेतनाको अभाव, गरिबी, समाजमा बिद्यमान असमानता, बिभेद, शोषण, र्दुव्यावहार र बेरोजगारीका कारण फैलिँदै गएको मानब बेचबिखन तथा ओसारपसारको समस्या बिकराल बन्दै गएको धारणा राख्दै मन्त्री कोइरालाले सरकारको एक्लो प्रयाशले मात्र बेचबिखनको समस्या समाधान हुन नसक्ने दावी गरिन्।

पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवन यापनका लागि उपयुक्त बाताबरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने मन्त्री कोइरालाको भनाइ थियो। 
मन्त्रालयका राज्यमन्त्री जाकिर हुसैनले दक्षिण एशियामा मानब बेचबिखन तथा ओसारपसारको समस्या भयावह रहेको बताउँदै यो समस्या समाधान गर्न जनचेतना जगाउने र दलाललाई कार्वाही गर्नुपर्ने धारणा व्यक्त गरे। मन्त्रालयका सचिव खगराज बरालले मानब बेचबिखन तथा ओसारपसारमा संलग्न दलाललाई समुलनष्ट गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए। 

m3

नौजनालाई पुरस्कार र सम्मान
सोही अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको क्षेत्रमा उत्कृष्ट काम गरेका छ जनालाई पुरस्कृत तथा तिन जनालाई सम्मान गरेको छ। पुरुस्कृत हुनेहरुमा महिला, बालबालिका कार्यालय रौतहटका महिला बिकाश अधिकृत साबित्रा न्यौपाने, जिल्ला प्रहरी कार्यालय कंचनपुरकी प्रहरी जवान सपना ऐरी, हिमालय टाइम्स दैनिक पत्रिकाकी रमा लुइँटेल, कान्तिपुर एफ एमकी पार्वता चौधरी, शक्ति मिलन समाज, सुकेधाराकी एचआइभि संक्रमित नातीसरा राइ र शान्ति पुर्नस्थापना गृह ललितपुर ठेँचो पुरस्कृत भएका छन्। 
त्यसैगरी, सम्मानित हुनेहरुमा महिला तथा बालबालिका कार्यालय मकवानुिरकी महिला बिकाश निरिक्षक दुर्गा घिमिरे, अस्मिता नेपाल मकवानपुर हेटौंडाकी आरती पाठक र साथी संस्था नख्खु ललितपुर रहेका छन्। 

शक्ति समुहको गीति नाटक प्रस्तुत
आफन्त नै फकाउँथे, कतै थियो जर्बजस्ती
रहर, बाध्यता, बिश्वाशले भो जीवनमा सास्ती

खचाखच मानिसहरुले भरिएको हलमा गीतका यीनै हरफ गुन्जिँदा उपस्थित सबैको आङ सिरिङ्ग गर्यो। बेचिएकी चेलीको पीडामा ओतप्रोभ गीत र संगीतले उपस्थित सबैलाई भावुक बनाएको थियो । गीत र संगीतको तालमा कालो कपडा लगाएका पाँच किशोरी मञ्चमा नृत्य प्रस्तुत गरिरहेका थिए। 
आफन्तले नै ललाइ फकाइ गरी अनेक थरी सपना देखाएर बिदेशमा बेचिन बिबश चेलीहरुको कथा लिएर जव शक्ति समुहका यी किशोरी मञ्चमा उक्लिए। हल यसै पनि स्तब्ध बनेको थियो। राजधानीको कमलादी स्थित प्रज्ञाभवनको सभाहलमा उपस्थित सहभागी मात्र होइन कार्यक्रमकी प्रमुख अतिथि सभामुख ओनसरी घर्ती र कार्यक्रमकी अध्यक्ष महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालालगायत सवै अतिथि पनि नृत्यको दृश्य देखेर भावुक भइरहेका थिए। 

m1

प्रतिक्रिया

सम्बन्धित सामाग्री