शुक्रबार, ७ वैशाख २०८१

सेयर कारोबार गर्नेको संख्या बढ्न थाल्यो,गाउँको पैसा शहरमा परिचालन हुँदै

समयपोष्ट २०७४ भदौ ९ गते १०:४६

शेयर बजारको दायरा फराकिलो हुँदै जाँदा बनेपामा पनि कारोबार गर्नेको संख्या बढ्दै गएको छ ।

Advertisement

बनेपामा भिजन सेक्युरिटिज प्रालि (३४), डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालि (४४) नंले शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम छ महिनादेखि हुन थालेपछि सो कारोबार गर्नेको संख्या बढेको हो ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकाश अधिकारीले गाउँ गाउँबाट शेयर कारोबार गर्न ग्राहक आउन थालेकाले गाउँको पैसा शहरमा परिचालन भएको बताए । उनले यस क्षेत्रमा शेयर कारोबार गर्ने महिलाको संख्या बढ्नुका साथै शेयर कारोबारप्रति जनचेतना बढ्दै गएको बताए ।

सो शाखामा एक साताको अवधिमा १० करोड ११ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । चैतबाट उक्त कार्यालयले बनेपामा शुरु गरेको शेयर कारोबार गत साता चार दिनको अवधिमा ६ करोड तीन लाख ४० हजार भएको थियो ।

त्यस्तै डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले बनेपामा एक साताको अवधिमा रु ९१ लाख ११ हजारको कारोबार गरेको छ । गत साता सो कार्यालयले रु ८५ लाख ६० हजारको कारोबार गरेको बनेपा शाखाका प्रमुख नमोः ओम श्रेष्ठले जानकारी दिए ।

“नयाँ नयाँ तर सानो कारोबार गर्ने ग्राहकको संख्या बढेको छ,” उनले भने । उक्त ब्रोकर कार्यालयले पाँच महिनादेखि बनेपामा शेयर कारोबार गर्दै आएको छ ।यी दुई ब्रोकर कार्यालयबाहेक क्रियटिभ सेक्युरिटिज प्रालिले पनि शेयर कारोबार गर्दै आएको छ ।

बनेपा बजारलाई काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिँदै आएको छ । यहाँ आर्थिक कारोबार बढी हुने गर्छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री