शुक्रबार, १४ वैशाख २०८१

आर्थिक प्रतिफलका लागि अस्पतालमा लगानी गरेका होइनौं :ज्योति समूहका उपाध्यक्ष डा.रूप ज्योतिको अन्तर्वार्ता

समयपोष्ट २०७३ साउन ३० गते १२:३४

डा. रूप ज्योति नेपालको पुरानो औद्योगिक घराना ज्योति समूहका उपाध्यक्ष हुन् । नेपालका चर्चित उद्योगपतिभित्र पर्ने उनले सांसद र मन्त्रीको अनुभव पनि सँगालेका छन् । उद्योग, व्यापार र सेवा तीनवटै क्षेत्रलाई सँगसँगै अगाडि बढाएका डा. ज्योतिसँग समयबोधका लागि लेखनाथ न्यौपानेले गरेको कुराकानी :

Advertisement

अहिले ज्योति समूहको अवस्था कस्तो छ ?
हामी उद्योग, व्यापार र सेवाको क्षेत्रमा छौं । उद्योगमा नेपालको सबैभन्दा पुरानो फलामको रोलिङ मिल, अक्सिजन, ज्योति स्प्रिङ मिल्स बिक्री वितरणमा हामी मोटरसाइकल्स, पार्टस्, गाडी, टयाक्टर पम्प सेट, औषधि, फिलिप्सका इलेक्ट्रोनिक्स आइटम छन् । पछिल्लो समयमा स्वास्थ्य सेवाको क्षेत्रमा पनि हामी छौं ।


ज्योति समूहमा अहिले तपार्ईंं र तपार्ईंंको दाइले छुट्टाछुट्टै व्यापार गरिरहनुभएको छ ? यसरी अलग–अलग गर्दाको अनुभव कस्तो रह्यो ?
मोटरसाइकलका दुईवटै कम्पनी छुट्टाछुट्टै छन्, आपसमा कुनै सम्बन्ध छैन । यो हाम्रो दोस्रो पुस्ताले गर्दै आएको छ । हाम्रो पुस्तामा मेरो दाइ पद्म ज्योति र म सबै ठाउँमा समान रूपमा छौं । दोस्रो पुस्ता दाइको छोरा र मेरा छोराछोरी भने छुट्टाछुट्टै गरिरहेका छन् ।


तपाईंको पुस्तामा समान रहे पनि तपाईंहरूपछिको पुस्तामा पतिस्पर्धा नै छ, हैन ?
हो, प्रतिस्पर्धामै गएर काम गरिरहेका छन् । किनभने हामीले दोस्रो पुस्तालाई प्रतिस्पर्धा गर्न छाडिदिएका छौं । उनीहरू आफैं कम्पनी बनाएर छुट्टाछुट्टै प्रतिस्पर्धाबाटै कारोबार गरिरहेका छन् । हामीले उनीहरूलाई हस्तक्षेप गरेका छैनांै । हामीमाथि बसेर उनीहरूलाई केही समस्या प¥यो र कठिनाइ भयो भने हेर्ने गरेका छौं ।
अहिले अन्य धेरै व्यावसायिक घराना आधुनिक कृषितिर पनि आकर्षित भएका छन्, तपाईंको समूहको कृषिको अवस्था कस्तो छ ? 
कृषि व्यवसायका रूपमा अगाडि बढाउन मेरो दाइले पहल गर्नुभएको थियो । मलाई यसमा पूरै जानकारी त छैन तर सोचेअनुरूप प्रतिफल पाएकोजस्तो मलाई लागेन । कृषिमा अप्रत्यक्ष रूपमा सहयोग पुग्ने काम भने हामीले गरेका छौं । जस्तो ट्याक्टर, पम्प सेट बिक्री गर्दै आएका छौं । यसबाट हामीले केही न केही कृषि व्यवसायलाई सघाउ पु¥याइरहेका छौं । तर, हामी आफैं यसमा व्यावसायिक रूपमा लागेका छैनौं ।


तपाईंले नेतृत्व गरेका पब्लिक कम्पनीले राम्रो प्रर्फमेन्स देखाउन किन सकेनन् ? जस्तो ज्योति स्प्रिङ मिल्स विघटन भयो, भाजुरत्न फाइनान्स भिभोरमा गाभ्नुभयो, पछिल्लो समय ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि विवाद देखिन्छ ।rup-jyoti-2
ज्योति स्प्रिङ मिल्स निजी क्षेत्रको पहिलो उद्योग थियो । यो स्थापना हुँदा त्यतिखेर लाइसन्स दिने चलन थिएन, पछि सरकारले लाइसेन्स, इजाजत दिने बेलामा अनेकौं सर्त राख्यो । सर्तमा ४० प्रतिशत सुती धागो उत्पादन गर्नुपर्छ भन्यो, जब कि सुती धागो उत्पादनका लागि नेपालमा कपास नै थिएन । उद्योगमा लगानी ४९ प्रतिशतभन्दा बढी हुनुहँुदैन भन्ने सर्त राखिदियो । पब्लिक कम्पनी बनाउनुपर्ने भन्यो । अनेकौं बन्धनकारी सर्त राखेको हुनाले यो समस्यामा परेको हो । उद्योग सञ्चालन भएको १० दिन नबित्दै सरकारले भारतबाट हामीले बनाउनेखालको धागो विदेशी मुद्रामा नेपाल आयात गर्नुपर्ने नीति ल्याइदियो । विदेशी मुद्रामा धागोको मूल्य धेरै कम हुन्थ्यो । भारतमै पनि त्यतिखेर त्यहाँ उत्पादित धागोलाई विदेशी मुद्रासँग प्रतिस्पर्धा गराउने हो भने सबै फेल हुने अवस्था थियो । हामीले त्यति ठूलो उद्योग खोलेको बेला सरकारले त्यो नीति ल्याउनु भनेको हामीलाई डुबाउने नीति थियो । त्यसमा हारगुहार गर्दा गर्दै दुई वर्ष त्यत्तिकै गयो । दुई वर्षपछि सरकारले ती सबै नीति हटायो । तर, त्यतिखेरसम्म हामीलाई धेरै नोक्सानी भइसकेको थियो । सुती धागो बनाउनुपर्ने प्रावधानले गर्दा मेसिन पनि त्यस्तै जडान गर्नुप¥यो । त्यो जडान गर्दा अरू धागो बनाउन नसक्ने अवस्था आयो । सुती धागोका लागि भारतबाट डलरमा कपास झिकाउनुपर्ने अवस्था आयो । कपासको मूल्य धेरै उच्च थियो । कपास झिकाएर यहाँ काम गर्दा भारतीय सुती धागोसँग प्रतिस्पर्धा गर्न एकदम कठिन भयो । सरकारको नीतिका कारण नै हामी असफल भयौं । सुरुमा राम्रै थियो, अनि लोडसेडिङ सुरु भयो, सुरुमा आठ घन्टा त्यसपछि १६ घन्टा पुगेपछि उद्योग नै धराशयी भयो । तर, हामी पछि आएका धागो कारखानालाई सजिलो भयो । लाइसन्स नै नचाहिने भयो । त्यसमा पनि भारतमा एक्सपोर्ट गर्न सक्ने भइसकेपछि उनीहरू बाँच्न सफल भए । उनीहरू आउँदासम्म हामीलाई धेरै नोक्सान भइसकेकाले हामीलाई थाम्न गाह्रो भएको हो । बाहिरबाट हेर्दा हामीले ल्याएको उद्योग असफल भएजस्तो देखिन्छ तर गहिराइमा गएर हेर्दा अति कम मूल्यमा आधुनिक प्रविधि भित्र्याएर छोटो समयमा चलाएको उद्योग धराशयी हुनुका कारण नीतिगत समस्या नै थियो ।
अर्को भाजुरत्न फाइनान्स असफल अथवा समस्या भएको होइन । फाइनान्स खोल्दा ७० प्रतिशत प्रमोटरको सेयर राख्न पाउने व्यवस्था थियो । त्यो हिसाबले नै कम्पनी स्थापना भयो । त्यसपछि राष्ट्र बैंकले के नियम बनायो भने प्रमोटर सेयर घटाएर ३० प्रतिशतमा ल्याउनुपर्छ भन्यो । त्योसँगै डाइरेक्टरले आफ्नो सेयर बिक्री गर्न नपाउने नीति ल्यायो । एकातिर सेयर घटाउनुस् भन्यो अर्कोतिर सेयर बिक्री गर्न पाउँदैन भन्यो । त्यसो भएपछि हामी धेरै अप्ठ्यारोमा फस्यौं । त्यो बेला भिभोर बैंक निकै समस्याग्रस्त थियो । आर्थिक र नगद प्रवाहको हिसाबले त्यो बैंकलाई हामीले धेरै मद्यत गरेको हुनाले भिभोर बैंक पार लाग्यो । अहिले भिभोरले राम्रो गरिरहेको छ । त्यसैले भाजुरत्न पाइनान्सलाई असफल भन्न मिल्दैन ।
अर्को ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल हाम्रो प्रोजेक्ट होइन । त्यहाँ डा. चक्रराज पाण्डेले मलाई व्यक्तिगत रूपमा निम्त्याएर पाँच करोड हाल्न लगाउनुभयो । बोर्डमा राखेर अध्यक्ष बनाउनुभयो । उहाँले सुरुमा दैनिक एक हजार बिरामी उपचार गर्न सक्ने भनेर परिकल्पना गर्नुभएको थियो । तर, उहाँको परिकल्पना अनुसार दोस्रो वर्षदेखि ६ सय बिरामी आउनुपर्ने थियो । तेस्रो वर्षदेखि ८ सय पुग्नुपर्ने थियो, त्यो स्तरमा पुग्न सकेन । उहाँको परिकल्पना असफल भयो । उहाँमा पनि कुनै अस्पताल सञ्चालन अनुभव थिएन । हामी लगानीकर्तासँग त त्यो अनुभव शून्य नै थियो । हामीले उहाँले भनेअनुसार गरेको हो । तर, उहाँको अनुमान सही भएन । त्यही कारण नै अहिले समस्या आएको हो । उहाँले खर्चको हिसाबमा पनि जति आर्जन हुन्छ, त्यसको प्रत्यक्ष र अप्रत्यक्ष गरेर ४४,४५ प्रतिशतमात्र खर्च हुन्छ भनेर देखाउनुभयो । तर, सचालन सुरु भएपछि के देखियो भने प्रत्यक्ष खर्चमात्र ६० प्रतिशतभन्दा बढी देखियो । र, अप्रत्यक्ष खर्च ४० प्रतिशत देखियो । सबै गर्दा १०७ प्रतिशत त सञ्चालन खर्चमात्र भयो । यो समस्या समाधान नहुने होइन हुन सक्छ । अहिलेको मुख्य आवश्यकता पुँजीकै हो । पुँजी नहुँदा समस्या झन्झन् जटिल हुँदै गएको छ । जस्तै कुनै बिरामी हेमोग्लोबिन घटेर ६ मा पुग्यो, डाक्टरले जति गरे पनि १०,१२ सम्म नपुर्याए त बिरामी खत्तम हुन्छ । बिरामीलाई अरूको रगतको आवश्यकता पर्यो । त्यो पनि बिरामीसँग मिल्ने रक्त समूह चाहियो । त्यो भएन भने बिरामी मर्छ । त्यस्तै यहाँ पनि पुँजी बाहिरबाट ल्याएर बढाउनुपर्छ । पुँजी लिएर लगानीकर्ता पनि आयो तर हामीलाई मन पर्दैन भनेर फिर्ता गरिदिनुभयो ।

rup-jyoti-3लगानीकर्ता के कारणले फिर्ता भयो ?
हामीले लगानी गर्नुको मुख्य कारण नै राम्रो अस्पताल नेपालमा चलाउँ भनेर नै हो । तर, यसमा जसले परिकल्पना गरेर यस्तो–यस्तो हुन्छ भन्यो । त्यो परिकल्पना सही भएन । जति लागत भनिएकोे थियो, हेर्दै जाँदा प्रोजेक्ट रिपोर्टमा धेरै कमीकमजोरी देखिए । मेकानिकल इलेक्ट्रोनिक प्लम्बिङमा ४० करोड घाटा भएको रहेछ । त्यसपछि २८ करोडको करको रकम नै छुटेछ । फेरि पैसा थपेँ । अस्पतालका लागि मेरो ८० करोड ऋण पुग्यो । सुरु नहुँदै धराशयी भयो भने अर्को समस्या पर्छ भनेर त्यो कमी परिपुर्ति गरयौं । हामीले त्यहाँबाट केही प्रतिफल पाउँला, नाफा कमाउँला भनेर होइन । नेपाली जनता उपचार गर्न विदेशमा जान नपरोस् भनेर गरेको हो, त्यो हिसाबले हामी पूर्ण सफल भयौं । किनकि यति राम्रो अस्पताल त नेपालमा अरू छैन । मात्र आर्थिक रूपमा जुन अनुमान गरिएको थियो, त्यसमा मात्र समस्या देखिएको हो । योबीचमा व्यवस्थापनको राम्रो व्यवस्था हुन सकेन । म पनि मेरो इच्छा, अनुभव ज्ञान भएर होइन कि बाध्यतावश त्यहा अर्को कुनै विकल्प नै नभएपछि एक,दुई वर्ष संलग्न हुनपर्यो । तर, पछि उहाँले मलाई हटाएर अर्को समूहलाई ल्याउँदा राम्रो हुन्छ भनेर अर्को समूहलाई ल्याउनुभयो । विदेशी लगानी पनि गर्ने समूह ल्याउनुभयो । उहाँहरूको प्रवेशपछि म हटें । मेरो जति लगानी थियो, त्यो त्यहीं छाडेर हटें । मैले मेरो लगानी तुरुन्त चाहिन्छ भनेर पनि मागिनँ । किनभने मैले त्यस्तो गरे अस्पताल धराशयी हुन्छ । तर, उहाँले नयाँलाई ल्याएपछि त राम्रो गर्ने काम उहाँको थियो । त्योबीचमा उहाँले मसँग केही सल्लाह गर्नुभएन । पछि उहाँहरूको विदेशी लगानी भित्र्याउने काम सफल भएन । आफूले विदेशी लगानीकर्ता ल्याउन नसकेपछि फेरि मलाई गुहार्नुभयो । फेरि दुई वर्षपछि मलाई नै बोलाइयो । अस्पतालको अवस्था हेर्दा एकदमै खराब भइसकेको थियो । त्यसैले म एकपटक विदेशी लगानीकर्तासँग कुरा गर्छु भनें । मैले कुरा गरेपछि लगानीकर्ता लगानी गर्न तयार पनि भए । विदेशी लगानीकर्ताले एक सय आठ करोड लगानी गर्छु भनेर आयो । जब कि त्यसको चुक्ता पुँजी अहिलेसम्म ९२ करोडमात्र छ । यति ठूलो लगानी गर्नेले त फोकटमा लगानी गर्दैन । मेरो नियन्त्रणमा चुस्त व्यवस्थापनमा लगानी गर्छु भन्छ । व्यस्थापनमा छिर्छु, मेरो पकडमा व्यवस्थापन गएपछि म एक सय आठ करोड लगानी गर्छु भनेर छिर्नुभएको थियो । तर, त्यो लगानीकर्तालाई भित्र पस्नै दिइएन । पहिले पैसा ल्याउनुस् अनि आउनुस् भन्नुभयोे । लगानीकर्ताले नियन्त्रण भएपछि मात्र त्यो पैसा हाल्छु भन्नुभयो । लाइक डिसलाइकका कारण नै त्यो लगानीकर्ता पनि फर्कनुपर्यो । यो लगानीकर्ता पनि फर्केपछि यो अस्पताललाई कसरी जोगाउने भन्ने धेरै ठूलो चुनौती भएको छ । लगानी गर्छु भनेर आएको व्यक्तिलाई मन पर्दैन भनेर फर्काएपछि पहिलेभन्दा धेरै ठूलो चुनौती भएको छ ।


तपाईंको पनि त्यो अस्पतालमा त्यति धेरै लगानी छ, अब यो समस्या कसरी समाधान होला त ?
हामीले अस्पतालमा जति पनि लगानी गरेका छौं, त्यो आर्थिक प्रतिफल पाउने आसमा गरेको होइन । प्रतिफल र आफ्नो वर्चश्व जमाउने हिसाबले गरेको भए म त्यसरी फर्केर आउने थिइनँ । झगडा गरेर भए पनि त्यही बस्थें । सुरुमा उहाँले पाँच करोड भन्नुभयो, त्यो लगानी गरियो । त्यसमा थप्दाथप्दै हाम्रो लगानी बढ्दै गएको हो । अस्पतालको चुक्ता पुँजी ९२ करोड रुपैयाँको हो, जसमा मेरो २२,२३ करोड रुपैयाँ लगानी छ । त्यसबाहेक बैंकको ऋण र लगानी गरी मेरो तर्फबाट ८० करोड रुपैयाँ लगानी छ । त्यसबाहेक तीन वर्षको २० करोड रुपैयाँ ब्याज थपिएको छ । सबै गर्दा मेरो एक अर्ब २३ करोड रुपैयाँ दायित्व छ । २२,२३ करोड सामाजिक क्षेत्रमा रहोस् तर नडुबोस् भन्ने मात्र हो । तर, ऋणको ब्याज भने आउनुपर्छ । अर्को ठाउँमा राखे पनि त्यो पैसाको ब्याज त आउँथ्यो होला । यति धेरै लगानी भएपछि मैले छाड्नुपर्ने आवश्यकता थिएन । मात्र सञ्चालनमा बाधा नआओस् भनेर छाडेको हो । यति मेहेनत र रिक्स लिएर काम गरिसकेपछि अस्पताल राम्रोसँग सञ्चालन हुनुपर्छ । तर, मलाई त्यहाँबाट फर्काइदिएपछि त्यसको जिम्मेवारी मेरो रहँदैन । मेरो त खालि ऋण उठ्नुपर्छ भन्ने हो । सेयरमा लगानी भनेको त रिक्सको लगानी नै हो । आयो भने आयो आएन भने सबैको डुब्यो । जस्तै हाम्रो स्प्रिङ मिल्स डुब्यो, बैंकको ऋण उठ्यो तर हाम्रो सेयर त सबै डुब्यो । यहाँ पनि बैंको ऋण र हाम्रो ऋण उठ्छ । त्यसको सम्पत्ति छँदै छ, अस्पताल फेल भए पनि हाम्रो ऋण उठ्छ । सफल होस् उम्केर आओस् भन्ने चाहन्छौं । तर, सबै कुरा राम्रो इच्छा र चाहनाले मात्र पूरा हुँदैन । बिरामी मर्न लागेको छ, बाँचोस् भनेर कामना गरेरमात्र हुँदैन राम्रो उपचार हुनुपर्छ ।


अहिले तपाईंले ग्रान्डी सिटी खोल्नुभएको छ, यसको अवस्था कस्तो छ ? सेवा सुविधा के छन् ?
सुरुमा हामीले ग्रान्डी अस्पताल बजार क्षेत्रमा पनि हुनुपर्छ भनेर यहाँ जमलमा यति महँगो ठाउँ दिएका थियौं । ग्रान्डी अस्पताल टाढा भएकाले सबैलाई थाहा नहुन सक्छ, मान्छेलाई त्यहाँ आवतजावत गर्न गाह्रो हुन्छ, खालीपेटमा ब्लड टेस्ट गराउन धापासी पुग्दा गाह्रो हुन्छ भनेर सहयोग गर्ने हिसाबले यहाँ ठाउँ दिएका थियौं । मसँग यहाँ जमिन पनि खाली थियो । सिभिल कन्स्ट्रक्सन्स म गरिदिन्छु, अरू सामान ग्रान्डीकै ल्याएर क्लिनिक चलाउँ भनेर स्थापना गरेको हुँ । डाक्टरसँग परामर्श र सामान्य चेकअपलगायतका जाँच पायक पर्ने कान्तिपथमै गर्ने र थप उपचारका लागि ग्रान्डी पठाउने उद्देश्य थियो । तर, डा. पाण्डेसँग खटपट भएपछि उहाँले तपार्ईंको जग्गामा राखेको क्लिनिक तपार्ईंले नै चलाउनुहोस् भन्नुभयो ।
यो उहाँको गलत निर्णय थियो । हामी त झन् प्रतिस्पर्धी हुन पुग्यौं । यसलाई प्रयोग गरेको भए ग्रान्डी अस्पतालले दैनिक सयजना थप बिरामी पाउँथ्यो । जब कि त्यहाँ दैनिक दुई,अढाई सयमात्र बिरामी छन् । यहाँका बिरामीले थप त्यहाँ उपचार गर्थे, भर्ना हुन्थे अस्पतालले अझ बढी मात्रमा बिरामी पाउँथ्यो । तर, उहाँको गलत निर्णयले हामी छुट्टै अस्पताल खोल्न बाध्य भयौं । त्यहाँका बिरामी उल्टो यहाँ उपचार गराउन भर्ना हुन आउन थाले । त्यहाँ हुने अपरेसन यहाँ हुन थाल्यो । घाटा त ग्रान्डीलाई भएको छ । हामीले त यति महँगो लोकेसनमा पनि क्लिनिक सञ्चालन गरिरहेका छांै । अस्पतालका रूपमा हामीले भूकम्पको पछि सञ्चालनमा ल्याएका हौं। नेपालका कुनै पनि अस्पतालमा नभएका इक्युपमेन्ट हामीले यहाँ राखेका छौं । यो अस्पताल सानो भए पनि विश्वस्तरीय छ ।


यसको लगानी र सेवा सुविधाबारे बताइदिनुस् न ?
लगानीको कुरा गर्दा यो अस्पतालमा उपकरण किन्नमै ४०,५० करोड रुपैयाँ खर्च भइसकेको छ । ग्रान्डी सिटीमा ओडी लाइट अल्ट्रासाउन्ड छ, जुन नेपालका अरू अस्पतालमा छैन । डिजिटल एक्स–रे पनि ग्रान्डी र ग्रान्डी सिटीमा मात्रै छ । कतिपय त यस्ता उपकरण छन्, जुन भारतका अस्पतालमा समेत छैनन् । लगानीअनुरूपमा यहाँको सेवा सुविधा धेरै महँगो गरेको छैन । अरू निजी अस्पतालको स्तरमै राखेका छौं । हामीले २० गुणा महँगो उपकरण राख्दा पनि उपचार शुल्क त्यहीस्तरमा राखेका छौं।
केही समयअगाडि ग्रान्डी सिटी अस्पतालसँग जोडिएर सरोगेसीसम्बन्धी समाचार पनि आएका थिए, त्यसबारे प्रस्ट पारिदिनुहोस् न ?
सरोगेसी सन्तान प्राप्त गर्ने अन्तिम विकल्प हो । टेस्टट्युब बेबी पनि असफल भएपछिको तेस्रो विकल्पमा सरोगेट आएको हो । यो काम कुनै अनैतिक, धर्मविपरीत नेपालको हिसाबमा कुनै कानुनविपरीत काम होइन । यसलाई कुनै पनि हिसाबमा गलत भन्नु सही होइन । सरोगेसीका कारणले गर्दा नेपालमा धेरै आधुनिक प्रविधि भित्रिएका छन् । जस्तो कि नेपालमा यो सुरु गर्नुभन्दा अगाडि इक्सी मेसिन थिएन । मलाई त यस्तो मेसिन हुन्छ भन्ने थाहा पनि थिएन । विदेशीलाई आफूलाई चाहिएको हुनाले उनीहरूले तिमीहरू यो मेसिन राख भनेर राख्न लगाए ।
लेजर मेसिन र फ्रिजिङ व्यवस्था भयोे । त्यसको प्रतिफल नेपाली दम्पतीले पनि पाए । यसअघि नेपाली भारतमा गएर सरोगेट प्रयोग गरेर बच्चा पाउने गर्थे । यो सेवा सुरु भएपछि हामीकहाँ मात्र झन्डै दुई सयजना नेपाली दम्पतीले त्यसको फाइदा लिए । तर, यसको विरोधमा कुनै समूह नै लाग्यो । सुरुमा विज्ञापन दिनुहोस्, प्रचार–प्रसार रोक्छौं पनि भन्न आए तर हामी त्यता गएनौं । पछि जब यसलाई मुद्दाका रूपमा अदालतमा लगियो, त्यसपछि यसमा कुनै विदेशी गिरोह लागेकोजस्तो लाग्यो ।
सरोगेसी धेरै मुलुकमा कानुन छ । एउटा व्यवसायकै रूपमा चलिरहेको पनि छ तर फरक के छ भने त्यहाँ एउटा सरोगेटलाई सरोगेसी गराएबापत तीस÷चालीस हजार डलर खर्च हुन्छ । तर, भारतीय सरोगेटले चार,पाँच हजार डलरमा गर्दारहेछन् । विदेशमा सरोगेट गराउने सबै भारततिर लागे । त्यसपछि नेपालमा आयो । तर, अहिले अदालतले निर्णय गरिसकेपछि त्यसको आदर गर्दै हामीले रोकेका छौं ।


तपाईं विपश्यना साधना केन्द्मा पनि हुनुहुन्छ, तपाईंजस्तो व्यवसायी कसरी यतातिर आकर्षित हुनुभयो ?
विपश्यना साधना मैले सञ्चालन गरे पनि अहिले त्यसका साधक लाखौं छन् । उहाँहरू सबै मिलेर सञ्चालन गरेका हांै । एउटा जिम्मेवारी मलाई सुम्पिएको छ । गुरु सत्तिनान्द गोयन्काले नेपालको क्षेत्रीय धर्मश्री केन्द्रको आचार्यका रूपमा मलाई जिम्मेवारी दिनुभएको हो ।
विपश्यना भनेको हामी सबैलाई चाहिने कुरा हो । यसको उद्देश्य भनेको आफ्नो मन आफ्नो वशमा कसरी राख्ने र आफ्नो वश कसरी सफा गर्ने, कसरी निर्मल गर्ने, आफ्नो कर्म कसरी सुधार्ने भन्ने नै हो । यो निकै राम्रोसँग सञ्चालन भइरहेको छ । यसबारे सबैलाई जानकारी भइसकेको हुनाले पहिले–पहिले एउटा समूहले मात्र यसको लाभ लिइरहेको थियो पछि बिस्तारै विस्तार हुँदै गएपछि सबै उमेरका मानिस यसमा प्रवेश गरेका छन् । यसमा नेपाली ,विदेशी सबै छन् । सरकारी सेवाका उच्च ओहोदाका कर्मचारीे मन्त्री, मुख्य सचिव, सचिवह पनि यहाँ आउने गरेका छन् ।
उहाँहरूले प्रशासनमा पनि यसलाई लैजानुपर्छ भनेर गत वर्ष लोकसेवाको सेक्सन अफिसरका सयजनाको समूह यहाँ आएर ध्यान बस्नुभयो । त्यस्तै ९० जना प्रहरी निरीक्षक पनि आउँदै हुनुहुन्थ्यो । त्यही समय भूकम्प गएकाले आउन सक्नुभएन । गएको दुई महिनाअगाडि न्याय सेवामा प्रवेश गरेकाहरू पनि यो केन्द्रमा आउनुभयो । यो सबैका लागि हो । त्यसमा कसैको रोकतोक छैन । मात्र केन्द्रको नियम स्वीकार गर्नुपर्छ । यो निःशुल्क हो र त्यहाँ नियममा दस दिन बसेर आउनेका लागि यो खुला छ । यसमा केन्द्रको संख्या पनि बढेको छ । विदेशीको संख्या पनि बढेको छ । पहिले नेपालमा धर्मश्रीबाट सुरु भएको थियो, अहिले नेपालमा सञ्चालनमा भएकै आठ केन्द्र छन् । अर्को दुई थप्ने तयारीमा छांै ।


निःशुल्क कसरी सम्भव भयो, त्यहाँ जानेलाई त खान, बस्न पनि खर्च त भइहाल्छ ?
यो अहिलेसम्म दानबाटै सञ्चालित छ । शिविरमा बसेकाले आफैंले मैले अरूको दानबाट शिविर बस्न पाए भने मेरो दानबाट अरू बस्न पाऊन भनेर दान छोड्न चाहनेले छाड्छन् । सबै केन्द्र आफ्नो भोलेन्टरी दानबाटै सञ्चालित छ । आफ्नो गच्छेअनुसार मान्छेले दान दिन्छन् ।


तपार्ईंले व्यापार, उद्योग र सेवा तीनवटै क्षेत्र अगाडि बढाउनुभएको छ, यी तीनमध्ये कुनबाट बढी सन्तुष्ट हुनुहुन्छ ? 
म अहिलेसम्म सेवाअन्तर्गतकै विपश्यनाबाट आफू सन्तुष्ट र खुसी छु । एउटा त मैले आफूले समय दिन सकेकाले व्यवस्थापनको पाटो पनि राम्रो छ । आर्थिक रूपमा पनि मैले जे–जति गर्न सकेको छु, त्यसबाट म सन्टुष्ट छु । म धेरै व्यस्त बिजनेसमा लागेको व्यक्ति, यस्तो काममा लाग्नु एउटा उदाहरण पनि हो । म त्यहाँ संलग्न भएकै कारण बुझ्नकै लागि पनि त्यहाँ धेरै मान्छे आउने गरेका छन् । त्यसैले यसबाट म सबैभन्दा बढी सन्तुष्ट र खुसी छु ।


नयाँ संविधान आएसँगै १० वर्षे द्वन्द्व र संक्रमणकाल व्यवस्थापन भयो । थप लगानी बढाउने तपाईंको कुनै योजना छ कि ?
अहिले पनि यो प्रक्रिया टुंगिएस्तो मलाई महसुस हुन सकेको छैन । दीर्घकालीन लगानी गर्ने वातावरण बनेकोजस्तो लाग्दैन । बिजुली सहज हुन सकेको छैन । हाम्रो स्प्रिङ मिल धराशयी हुनुको मुख्य कारण पनि यही थियो । २४ घन्टा चलेको उद्योग पहिले आड घन्टा र पछि १६ घन्टा बन्द गर्नुपर्दा खत्तम नै भयो । कि त आठ घन्टामात्र चल्ने उद्योग ल्याउनुप¥यो । अर्को समस्या भनेको युनियनको पनि हो । नयाँ संविधानअनुसार युनियनको भूमिका के हुने हो, यो सबै स्पष्ट नभईकन निजी क्षेत्रले दीर्घकालीन लगानी गर्न गाह्रो छ । अर्को प्रान्तीय व्यवस्था लागू भइसकेपछि प्रदेशको सञ्चालन कसरी हुने हो, त्यहाँ राजनीतिक व्यवस्था कसरी हुने हो, सात मुख्यमन्त्री, मन्त्रिमण्डल, केन्द्रीय र प्रादेशिक मन्त्रिमण्डलको मनमुटाव भएर आपसमा झैझगडा भएर दुःख पाइने हो कि के हुने हो, त्यो नै निश्चय भएको छैन । दीर्घकालीन लगानी गर्ने योजना छ तर नयाँ व्यवस्थाअनुसार कसरी जाने भनेर अझ पर्खने पर्ने बेला छ ।


तपाईंको अनुभवमा आफ्नो मूल्य–मान्यता र इथिक्समा बसेर व्यवसाय सञ्चालनका अप्ठ्यारा के–के छन् ?
कानुन र इथिक्स भनेका फरक हुन् । कानुनी कुरा पनि अनइथिकल हुन सक्छ । इथिकल कुरा पनि गैरकानुनी हुन सक्छन् । जस्तो सुन आयात कानुनी रूपमा प्रतिबन्ध छ । तर, सुन तस्करी गर्नु र ड्रग्स तस्करी गर्नु उस्तै होइन । तर, मदिरालाई खुलमखुला छाडेको छ । तर, मेरो विपश्यना साधकको दृष्टिकोणले त्यो सरासर गलत हो । हामीले सकभर आफ्नो नियममा बसेर मूल्य–मान्यतालाई ध्यानमा राखेर काम गरेका छौं । तर, यस्तो बिजनेसमा गाह्रो धेरै छ । आफूले गरेका काममा धेरै नाफा कमाउन खोज्यो भने असन्तुष्टि हुन्छ, अरूसँग दाँज्न थालेपछि असन्तुष्टि हुन्छ, जे गरेका छौं त्यसमा सन्तोष भएर अहिलेको वातावरणमा यति नै गर्ने हो, यो नै ठीक हो भनेर सन्तोष लिन सकियो भने त्यो नै ठूलो कुरा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री