शनिबार, १ कार्तिक २०८२

डा. गोविन्द केसीले गेटामा सुरु गरे सत्याग्रह, यस्ता छन् माग

समयपोष्ट २०८२ भदौ १५ गते १४:५०

Advertisement

स्वास्थ्य र शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, समतामूलक पहुँच सुनिश्चितता, र युद्धग्रस्त क्षेत्रमा शान्ति स्थापनाको माग राख्दै कैलालीको गेटामा तीन दिने सत्याग्रह सुरु गरेका छन्। भदौ १७ सम्म चल्ने यो सत्याग्रहले सरकारलाई विगतका सम्झौताहरू कार्यान्वयन गर्न र गलत निर्णयहरू फिर्ता लिन दबाब दिने उद्देश्य राखेको छ।

डा. केसीले चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष हस्तक्षेपबाट निजी मेडिकल कलेजहरूको सिट संख्या वृद्धि गर्ने गलत निर्णय भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। “चिकित्सा शिक्षा ऐनको मर्मविपरीत भएको यो गैरजिम्मेवार निर्णयले शिक्षाको गुणस्तरमा ह्रास आउनुका साथै जनताको स्वास्थ्य सेवामा समेत नकारात्मक प्रभाव पर्छ,” डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता गर्न, इलाम, उदयपुर, र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्न, र गेटा मेडिकल कलेजमा तुरुन्त शैक्षिक कार्यक्रम र अस्पताल सेवा सञ्चालन गर्न माग गरेका छन्।

डा. केसीले नेपालको लिपुलेक क्षेत्रमा भारत र चीनले व्यापारिक सहमति गरेको भन्दै सीमा अतिक्रमणको विरोधमा सत्याग्रह गरेको बताएका छन्। साथै, उनले रुस-युक्रेन युद्ध र गाजामा इजरायलको आक्रमणमा भएका मानवताविरुद्धका अपराधहरूको पनि कडा निन्दा गरेका छन्। “लिपुलेकमा भएको अतिक्रमण रोकेर नेपाली भूमि फिर्ता गर्न र युद्धग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्न माग राख्दै यो सत्याग्रह सुरु गरेको छु,” उनले भने।

डा. केसीले मेडिकल शिक्षाको गुणस्तरमा ह्रास आउँदा जनताको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने बताएका छन्। “सिट संख्या वृद्धि गर्ने निर्णयले माफिया र नेताहरूको स्वार्थ पूरा भए पनि शिक्षाको गुणस्तर र जनस्वास्थ्यमा खेलवाड हुन्छ,” विज्ञप्तिमा उल्लेख छ। उनले सरकार र सम्बन्धित निकायहरूलाई विगतका सम्झौताहरू कार्यान्वयन गर्न र चिकित्सा शिक्षा ऐनको पालना गर्न जोड दिएका छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री