शुक्रबार, ३१ असोज २०८२

लुना लुइँटेलले जितिन् यस वर्षको मिस नेपालको उपाधि

समयपोष्ट २०८२ भदौ १४ गते २०:१५

Advertisement

नेपालको सौन्दर्य क्षेत्रको सबैभन्दा प्रतिष्ठित कार्यक्रम मिस नेपालको ३१औं संस्करणमा लुना लुइँटेलले मिस नेपाल वर्ल्डको ताज जितेकी छन्। शनिबार ललितपुरको गोदावरीमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा २५ जना अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले यो सम्मानजनक उपाधि हासिल गरिन्। पूर्व मिस नेपाल आस्मा कुमारी केसीले उनलाई ताज लगाइदिएकी थिइन्।

यो वर्षको प्रतियोगितामा मिस नेपाल अर्थको उपाधि सोनी घलेले प्राप्त गरिन्, भने मिस नेपाल इन्टरनेसनलको ताज उरूशा भण्डारीले जितिन्। यसैगरी, दीपशिखा नेपाललाई फस्ट रनरअप घोषित गरियो। हिडन ट्रेजरद्वारा आयोजित यो कार्यक्रममा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, सौन्दर्य र सामाजिक जागरणका मुद्दाहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए। विजेताहरूलाई आयोजकहरू तथा निर्णायक मण्डलका सदस्यहरूले ताज, प्रमाणपत्र र विभिन्न पुरस्कारहरू प्रदान गरे।

निर्णायक मण्डलले विभिन्न सबटाइटलहरू पनि घोषणा गरेको थियो, जसमा मिस कन्फिडेन्टको उपाधि प्रगिका क्षेत्रीले, मिस टाइमलेस एलिगेन्सको उरुशा भण्डारीले, मिस हेल्दी स्किनको आरती थापाले, मिस ग्रीन भिजनरीको जगदिश्वरी शाहले, मिस प्रिस्टिनको प्रियंका थापाले, मिस पपुलर च्वाइसको उरुशा भण्डारीले, मिस ब्यूटिफुल हेयरको स्वेच्छा थापाले, मिस एम्पावर्ड च्वाइसको दीपशिखा नेपालले र फेस अफ द इयरको स्मृति श्रेष्ठले जितेका छन्।

मिस नेपाल प्रतियोगिताले नेपाली युवतीहरूलाई सशक्तीकरण, पर्यावरण संरक्षण र सामाजिक मुद्दाहरूमा सक्रिय बनाउन प्रेरणा दिने गर्दछ। यो वर्षको संस्करणमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने २६ जना प्रतिस्पर्धीहरू सहभागी थिए, जसको सूची निम्नानुसार छ: १. सान्भी मण्डल, २. संस्कृति भट्टराई, ३. सुदिना हुमागाईं, ४. श्रुती महर्जन, ५. अनुराधा शर्मा ढकाल, ६. अनुप्रिया ठाकुर, ७. दीपशिखा नेपाल, ८. जगदिश्वरी शाह, ९. लुना लुइँटेल, १०. जशोदा कार्की, ११. आश्रीया थापा, १२. उरुषा भण्डारी, १३. अञ्जिला रजक, १४. सृष्टिकुमारी तामा, १५. क्रिस्टिना बस्नेत, १६. आरती थापा, १७. समृद्धि केसी, १८. सइच्छा थापा, १९. स्वाती पञ्जियार, २०. सोनी घले, २१. श्रीयानी श्रेष्ठ, २२. स्मृति श्रेष्ठ, २३. ओजल रायमाझी, २४. निलिमा पाण्डे, २५. प्रियंका थापा, २६. प्रज्ञिका क्षेत्री।

Advertisement

यो कार्यक्रमले नेपाली सौन्दर्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दै आएको छ। विजेताहरूले आगामी दिनहरूमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री