वीरगञ्जमा फेला परेन हैजा फैलाउने जीवाणु
वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालामा गरेको खानेपानीको परीक्षणमा झाडापखाला फैलाउने जीवाणु नभएको पुष्टि भएको छ। हैजा प्रभावित वडा नम्बर १०, ११ र १२ का सात स्थानबाट सङ्कलित पानीका नमुनाहरूको परीक्षण प्रतिवेदन ‘नेगेटिभ’ आएको हो।
हालै झाडापखाला र हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि महानगरले जोखिमलाई मध्यनजर गर्दै आफ्नै प्रयोगशालामा पानीको परीक्षण सुरु गरेको थियो। सङ्कलित नमुनाहरूमा तीन वटा बोरिङ र चार वटा खानेपानी संस्थानका धाराहरूबाट प्राप्त पानी समावेश थिए। ती सबै नमुनामा झाडापखाला फैलाउने इ.कोली जीवाणु फेला नपरेको महानगरले जनाएको छ।
यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमुनाहरूमा पनि कुनै जीवाणु नभएको पुष्टि भएको थियो। वडा नम्बर १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमा स्थापना गरिएको आधुनिक प्रयोगशालामा हाल माइक्रोबायोलोजिष्ट अजय मण्डलको नेतृत्वमा इ.कोली परीक्षण भइरहेको छ। युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि सुरु भएको छ, जसको प्रतिवेदन शुक्रबारसम्म प्राप्त हुने अपेक्षा गरिएको छ।
महानगरको वातावरण निरीक्षक प्रकाश ऐरको टोलीले शङ्कास्पद क्षेत्रहरूमा पुगेर धाराको पानी सङ्कलन गरी नियमित परीक्षणलाई तीव्रता दिएको छ। दूषित पानीको पहिचान र तत्काल आवश्यक कदम चाल्न सहज होस् भन्ने उद्देश्यले महानगरले आफ्नै स्तरमा परीक्षण कार्य अघि बढाएको हो।
महानगर प्रमुख राजेशमान सिंहले सङ्क्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताउँदै शुद्ध र सुरक्षित खानेपानी हालको मुख्य आवश्यकता भएको उल्लेख गरे। उनले भने, “नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन हामीले आफ्नै प्रयोगशालाबाट परीक्षण सुरु गरेका छौँ।” प्रभावित क्षेत्रका धाराहरूलाई प्राथमिकतामा राखेर परीक्षण भइरहेको र आवश्यकताअनुसार अन्य शङ्कास्पद स्थानका नमुनाहरू पनि सङ्कलन गरी परीक्षण गरिने महानगरले जनाएको छ।
प्रतिक्रिया