महालक्ष्मी विकास बैंकको उल्लेख्य प्रगति, लाभाशं वितरण क्षमतामा वृद्धि

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक सुधार गर्दै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो आर्थिक वर्षमा उल्लेख्य प्रगति हासिल गरेको छ।
बैंकको खुद नाफा रु. ५०.०३ करोड पुगेको छ भने लाभांश वितरण क्षमता ११.५१ प्रतिशत पुगेर उल्लेख्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बैंकले रु. ५६.२२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ। कर्जा परिचालनमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रतिशत वृद्धि भएको छ। त्यस्तै, शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत र कर्जा-निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र छ। पर्याप्त पुँजी पर्याप्तता अनुपातका कारण आगामी दिनमा व्यवसाय वृद्धिमा कुनै पुँजीगत दबाब नरहने बैंकले जनाएको छ।
वित्तीय विवरणअनुसार आषाढ मसान्तसम्म बैंकको कोष लागत ४.५६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४७ प्रतिशत कम हो। कोष लागत कम हुँदा बैंकको आधार दरमा सकारात्मक प्रभाव परेको छ। २०८२ श्रावण मसान्तसम्म बैंकको आधार दर ६.५४ प्रतिशत रहेको छ। आधार दर कम हुँदा ऋणीहरूले सस्तो ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने भएकाले यसको प्रत्यक्ष लाभ ग्राहकहरूलाई हुने देखिन्छ।
बैंकले हालै आफ्नो मोबाइल बैंकिङ एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्ड सुविधा थप गरेको छ। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।
 




























 
	
प्रतिक्रिया