शनिबार, १ कार्तिक २०८२

गण्डकीमा चार हजार २० वर्षमुनिका ‘किशोरी आमा’

समयपोष्ट २०८२ साउन २३ गते ६:२३

Advertisement

कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ । यस प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको सङ्ख्या ३५ हजार ८७४ छ । यस अवधिमा सबैभन्दा कास्कीमा सुत्केरी हुनेको सङ्ख्या बढी छ । कास्कीमा १० हजार ८९५ जना सुत्केरी हुँदा एक हजार ३६८ जना २० वर्षमुनिका किशोरी छन् । यो अवधिमा सबैभन्दा कम मनाङमा सुत्केरी भएका छन् । यस जिल्लामा १५ जना महिला सुत्केरी हुँदा एक जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल २१ हजार १२७ सुत्केरी भएकामा २० वर्षमुनिका दुई हजार २७४ किशोरी छन्भने २० वर्षमाथिका १८ हजार ८५३ रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयो । आव २०८१/८२ कुल १८ हजार दुई जना सुत्केरी भएकामा २० वर्षमुनिका एक हजार ९८१ जना किशोरी छन् । बीस वर्षमाथिका १६ हजार २१ जना महिला रहेको उहाँको भनाइ छ ।

पछिल्लो दुई वर्षमा बागलुङमा चार हजार छ ४२ जना सुत्केरी भएका छन् । जसमा २० वर्षमुनिका छ सय ६९ जना किशोरी छन् । पर्वतमा कुल एक हजार १५५ जना सुत्केरी भएकामा एक सय ९१ किशोरी छन् । म्याग्दीमा एक हजार ४१८ जना सुत्केरी भएकामा दुई सय ९३ जना २० वर्षमुनिका किशोरी छन् । मुस्ताङमा ९० जना सुत्केरी भएकामा छ जना २० वर्षमुनिका किशोरी छन् ।

Advertisement

त्यसैगरी, स्याङ्जामा एक हजार ८८७ जना सुत्केरी भएकामा दुई सय ४२ जना २० वर्षमुनिका किशोरी छन् । तनहुँमा दुई हजार ५८ जना सुत्केरी हुँदा तीन सय ४३ जना २० वर्षमुनिका किशोरी रहेका छन् । लमजुङमा दुई हजार १६१ जना सुत्केरी भएकामा २० वर्षमुनिका दुई सय ३५ किशोरी छन् । गोरखामा तीन हजार २३ जना सुत्केरी भएकामा चार सय एक जना २० वर्षमुनिका किशोरी छन् । नवलपुरमा दुई हजार ६५८ जना सुत्केरी भएकामा पाँच सय छ जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बालविवाह रोक्नका लागि सरकारले सबै स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । कानुनले नै बालविवाहलाई बर्जित गरेको हुँदा यस्तो विवाह गराउनेलाई कानुनी दायरामा ल्याउने काम गरेको उहाँको भनाइ छ । प्रदेश सरकारले बालबालिकालाई स्वास्थ्य सचेतना र बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम निरन्तर गरिरहेको मन्त्री पाठक बताउनुहुन्छ । विद्यालय तहबाट नै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

धवलागिरि प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा विजय ओझाले २० वर्ष उमेर नपुग्दै बच्चा जन्माउँदा किशोरीहरूको शरीर पूर्ण रूपमा विकास नभएकाले गर्भ धान्न गाह्रो हुने बताउनुभयो । सुत्केरी हुने समयमा शारीरिक बनावट पर्याप्त नहुँदा शल्यक्रिया गर्नुपर्ने सम्भावना बढी हुने उहाँको भनाइ छ । बच्चा जन्माउँदा अत्यधिक रक्तश्राव हुने खतरा बढी हुने डा ओझा बताउनुहुन्छ ।

कम तौलका बच्चा जन्मिने, अपुग तौलले बच्चालाई दीर्घकालीन स्वास्थ्य समस्या पर्ने र किशोरावस्थामै जन्माएको बच्चाको अङ्ग पूर्ण विकास नभएकाले गम्भीर स्वास्थ्य समस्या देखिने उहाँको भनाइ छ । उमेर नपुगी आमा बनेपछि सामाजिक दबाब, लाज, डर आदिका कारण मानसिक स्वास्थ्यमा असर पर्ने डा ओझाले बताउनुभयो । बीसदेखि ३४ वर्षको बीचमा बच्चा जन्माउनका लागि उत्तम उमेर रहेको उहाँको भनाइ छ । सानै उमेर विवाह गरेर बच्चा जन्माउँदा घरेलु हिंसा बढी हुनसक्ने उहाँले सुनाउनुभयो ।

नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ ले उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ । साथै कसुर गर्ने जोकोही व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री