बिहीबार, १३ वैशाख २०८१

ग्रान्डीमा मिर्गौला प्रत्यारोपण, निजी क्षेत्रबाट पहिलो

समयपोष्ट २०७३ साउन २६ गते ७:२३

जनस्वास्थ्य सरोकार । निजी क्षेत्रबाट मुलुकमा पहिलोपटक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सफल मिर्गौला प्रत्यारोपण शुरु गरेको छ । नेपालका दक्ष एवं अनुभवी चिकित्सकहरुको टिमले गत असार २७ गतेदेखि अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु गरेका हुन् ।

Advertisement

शुरुको दिनमा काठमाडौं गोकर्णेश्वर नगरपालिकाका ३७ वर्षीय रबिन लामाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै सहोदर बहिनी ३५ वर्षीया उमा लामाले मिर्गौला दान गरेकी थिइन् । उमा लामाको मिर्गौला रबिन लामाको शरीरमा प्रत्यारोपण गर्न करिब ३ घण्टा ३३ मिनेट समय लागेको थियो ।
अस्पतालका वरिष्ठ युरो शल्यचिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह, डा. पवन राज चालिसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुईटेल, डा. सुरेन्द्रबिक्रम अधिकारी, डा. उपेन्द्र जोशी, एनेस्थेसियोलोजिष्टहरु डा. मुरारीराज उप्रेती, डा. अर्चना अधिकारी र डा. सुवासप्रसाद आचार्यको टिमले मिर्गौला प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।

वरिष्ठ युरो सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली भन्नुहुन्छ—‘मिर्गौला प्रत्यारोपण गरेका बिरामी सामान्य अवस्थामा आइसकेका छन् ।’ प्रा.डा. दिव्या सिंहको भनाइ छ—‘अस्पतालमा रहेका अत्याधुनिक अप्रेशन थियटर र विश्वस्तरका अत्याधुनिक उपकरणहरुको सहयोगले यस किसिमको विशिष्ट शल्यक्रिय संभव भएको हो ।’
‘नेपालमा पहिलोपटक निजी क्षेत्रबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया सम्पन्न गर्न सफल भएकोमा खुशी छौं । आगामी दिनमा यो सेवालाई अत्यधिक जनमुखी र भरपर्दो बनाउँदै लैजाने छौं’—ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक डा. चक्रराज पाण्डे भन्नुहुन्छ—‘ यो सेवाका लागि अस्पतालमा आवश्यक सम्पूर्ण पूर्वाधार र जनशक्तीको व्यवस्था गरेका छौं र हामीसँग हरेक दिन मिर्गौला प्रत्यारोपण शल्यक्रिया सेवा दिनसक्ने क्षमता छ ।’
डा. पाण्डेका अनुसार, अस्पतालमा सञ्चालित संक्रमण नियन्त्रण कार्यक्रम, शल्यक्रियापछिको विशिष्ट नर्सिङ सेवा र भिन्नै प्रत्यारोपण वार्डको उपलब्धताले बिरमीलाई छिटो निको हुन मद्धत पुग्ने गरेको छ ।

सन् २००८ अगष्ट ८ तारेखदेखि त्रि.बि.शिक्षण अस्पतालमा शुरु भएको मिर्गौला प्रत्यारोपण कार्यक्रमबाट हालसम्म ३७७ जनाको सफल मिर्गौला प्रत्यारोपण भइसकेको छ । यसैगरी बीर अस्पतालमा ९३ जना र मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा ३ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री