शुक्रबार, १६ चैत २०८०

सहमति कायम गरेर नै नागरिकता विधेयक पारित गरिएको हो– गृहमन्त्री खाण

समयपोष्ट २०७९ साउन २७ गते २१:४०

Advertisement

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताउनुभएको छ । उहाँले बर्षौदेखि नागरिकताविहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबीच सहमति गरेर विधेयक सदनबाट पारित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाबुआमा नेपालमा रहेको तर छोराछोरी नागरिकताविहीन हँुदा राज्यबाट पाउनुपर्ने सबै अधिकारबाट वञ्चित युवाहरुको भावनाअनुसार विधेयक पास गरिएको हो ।”

गृहमन्त्री खाणले १० वर्ष उमेरमाथिका कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता रुपन्देही जिल्ला घोषणा कार्यक्रम घोषणा गर्दै सरकारले सबै दलका नेताहरुसँग गहन छलफल गरेर यो विधेयक सदनमा अघि बढाएकोसमेत बताउनुभयो ।

उहाँले नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकामा स्वीकृतका लागि पठाइएको र यो विधेयक छिटो स्वीकृत होस् भन्ने आम नेपाली जनताको चाहना रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालका हिमाल, पहाड र तराई जुन भूभागमा बसोबास गरेको छ त्यहीकै समुदायले नै भूगोलको रक्षा गरेको चर्चा गर्दै नेपाली भाषा, संस्कृति र भूगोलको रक्षा गर्ने वास्तविक नेपाली नागरिक नै राष्ट्रियताको संरक्षक भएको बताउनुभयो ।

गृहमन्त्री खाणले सबैको सामूहिक प्रयासबाट नै कोभिड–१९ जस्तो महामारीलाई नियन्त्रण गर्न सकिएको भन्दै यसबाट जस्तोसुकै पनि विपद्लाई सामना गर्ने क्षमता नेपाली जनता र राज्यमा बढेको बताउनुभयो । कोभिड–१९ का कारण देशमा सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई परेको र यसबाट लुम्बिनी क्षेत्रको पर्यटन पनि प्रभावित रहेको उहाँको भनाइ थियो । उहाँले स्वास्थ्य क्षेत्रमा न्यूनतम पारिश्रमिक लिएर खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई तीन तहका सरकारले मिलेर निश्चित पारिश्रमिक तोकिदिन आग्रहसमेत गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा आयोजना गरिएको कार्यक्रममा १२ वर्ष उमेरमाथिको कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चतता गरेको जानकारी दिइएको थियो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारूले महामारीविरुद्ध एकताबद्ध भएर काम गर्दा परास्त गर्न सकिएको बताउनुभयो । उहाँले पूर्ण खोप जिल्ला घोषणा आफैँमा महत्वपूर्ण उपलब्धि भए पनि गुणस्तरीय खोपको सुनिश्चितता अर्को चुनौती रहेकाले त्यसतर्फ ध्यान दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।

प्रदेश सरकारका प्रमुख सचिव दीपक काफ्लेले रुपन्देही जिल्लाले पूर्ण खोप घोषणा गरेसँगै अन्य ११ वटा जिल्लालाई पूर्ण खोप गराउनुपर्ने चुनौती थपिएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि श्रुती नेपालले रुपन्देहीमा खोप कार्यक्रम प्रभावकारी बनाउन खोज र खोप अभियान सञ्चालन गर्दा सफलता मिलेको बताउनुभयो । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कोभिड नियन्त्रण, खोप कार्यक्रम सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गरेका विश्व स्वास्थ्य सङ्गठन, विभिन्न गैरसरकारी संस्थाहरु, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी, स्थानीय पालिकाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री