डाले घाँसको अनुदान समेत ‘फ्रिज’

बागलुङस्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रले गत आर्थिक वर्ष बहुवर्षे घाँस उत्पादनमा दिने अनुदानको रु पाँच लाख खर्च गर्न सकेन । ‘फ्रिज’ भएको पैसा फिर्ता गर्नुपर्दा कर्मचारी नराम्रो मान्दैछन् । नर्सरी बनाउने वा बिरुवा बिक्री गर्न चाहनले अनुदानका लागि माग गर्नुपर्ने उक्त बजेट माग नै नभएकाले फिर्ता गर्नु परेको हो ।

Advertisement

यसअघि नर्सरी बनाउने किसानले पेसा छाडेको, केहिले माग नगरेको कारणले रकम फिर्ता भएको हो । कतिपयले डाले घाँसको नर्सरी छाडेर भूई घाँस मात्र लगाउन थालेपछि अनुदानको रकमसमेत खर्च नभएको हो ।

“पटक–पटक सूचना निकाल्यौँ, माग गर्न कोही आएनन्” विज्ञकेन्द्रका सूचना अधिकारी केशव पौडेलले भन्नुभयो, “पशु फार्म सञ्चालनसमेत घटेकोले घाँसको अनुदान पनि लैजाने कोही भएनन् । ”केन्द्रले यसअघिका वर्ष धेरै किसानको निवेदन परेपछि दामासाही गर्ने वा छनोट प्रक्रियाबाट मात्रै अनुदान दिने गरेको थियो ।

पशुपालनतर्फ अनुदान दिए पनि व्यावसायिक कृषिको कच्चापदार्थ उत्पादनमा अनुदान नभएपछि फार्म सञ्चालक पलायन हुने क्रम बढेको छ । दाना, औषधि, चोकर र घाँस उत्पादनमा अनुदान र प्रोत्साहन गर्ने कार्यक्रम छैन । जसको कारण दैनिक लाखौँ रुपैयाँ विदेसिएका किसान गुनासो गर्छन् । सजिलोका लागि किसानले भूइँ घाँस लगाएकोले डालेघाँसको अनुदान फिर्ता भएको हो ।

‘भूइँ घाँस मात्रै खुवाउँदा पशुमा प्रोटिनको कमी हुने गर्छ’ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले भन्नुभयो, “धेरै मेहेनत र नर्सरीबाट बिक्री नहुने डरले डालेघाँसको नर्सरी बनाउने नभेटिएका हुन् ।” केन्द्रले खरिद गरिदिने आसमा बसे पनि जलजला गाउँपालिका–८ का मोहन कँडेलको नर्सरीमा बिरुवा बिक्री नभएको गुनासो गर्नुभयो । ‘कोही किन्न पनि आएनन्, केन्द्रले कसैलाई पठाएन’ कँडेलले भन्नुभयो, “मेरो नर्सरीमा तीन हजार बडहरका बिरुवा सुकेर जान लागे ।”

Advertisement

यस वर्ष नर्सरी बनाउने विषयमा उहाँले सोच्नै नसकेको गुनासो गर्नुभयोे । उहाँले प्रति बिरुवा रु ३० देखि ५० मा बेच्ने गर्नुहुन्थ्यो । त्यसबाट उहाँलाई झण्डै डेढ लाखसम्म कमाइ हुन्थ्यो । “कति बिरुवा हुर्केर गए, कति मरे, बिक्री भएनन्” कँडेलले भन्नुभयो, “पशु फार्म सञ्चालन गर्ने घटेको जस्तो लाग्यो ।” अनुदानमा बिरुवा पाउने व्यवस्था भए पनि पुराना फर्म बन्द हुँदै गएको पौडेलले बताउनुभयो । पशुपालनका लागि अति आवश्यकपर्ने बहुवर्षे घाँस लगाउने किसान पनि घटेका छन् ।

हरेक वर्ष पाँचदेखि सात जना किसान अनुदान खोज्दै आएकोमा गत आर्थिक वर्ष एक जना पनि नआएका हुन् । घाँस उत्पादन घटेकोले पशुचौपाया पाल्ने क्रम पनि घटेको प्राविधिक बताउँछन् । पशु गणना नभएकोले यकिन तथ्याङ्क भने कार्यालयमा पनि छैन । ‘केही नयाँ किसान थपिएर पशुको सङ्ख्या उस्तै देखिए पनि व्यावसायिक रुपमा पशुपालन गर्ने घटेका छन्’ पौडेलले भन्नुभयो, “कोरोना सङ्क्रमणपछि पशुजन्य उत्पादन घटेको देखियो ।”सापकोटाका अनुसार केन्द्रको अनुदानसमेत लिएर जिल्लामा साना व्यवसाय फर्म स्थापना र विस्तारतर्फ ६० जनाले एक लाखको दरले अनुदान पाएको तथ्याङ्क छ ।

उक्त कार्यक्रम अन्तर्गत १५ माउ बाख्रा पाल्ने किसान, भैँसी र गाई भए पाँच वटाको दरले पाल्नुपर्ने र बङ्गुर भए पनि कम्तीमा पाँच पाल्नेलाई मात्र यो सहयोग दिइएको हो । अघिल्ला वर्ष यो सङ्ख्या एक सयको हाराहारीमा हुन्थ्यो । ब्लक विकास कार्यक्रममार्फत एक स्थानीय तहमा एक एकवटा फर्ममा केन्द्रले थप सहयोग गरेको उहाँले बताउनुभयो । बागलुङ नगरमा बङ्गुर ब्लक र गलकोटमा बाख्रा ब्लक कार्यक्रम बनाएर अनुदान दिएको उहाँले बताउनुभयो ।

काठेखोलाको पालामा भैँसी विकास कार्यक्रम, जीविकोपार्जन कार्यक्रममार्फत लेखानीको आरनटोलमा २५ जना विपन्न बस्तीका किसानलाई २० हजारका दरले १० लाख रुपैयाँ लगानी भएको हो । रोजगार नभएको स्थानमा प्रति किसान रु २० हजार अनुदान दिँदा रोजगारीमा सहयोग पुगे पनि किसान आर्कर्षित गर्न नसकेको पौडेलले बताउनुभयो । किसानलाई आर्कषण गर्न प्रतिफलमा आधारित अनुदान कार्यक्रम ८ स्थानमा दिइएको छ । दूध उत्पादन गरेका ८ सहकारीलाई ६ लाखको दरले अनुदान दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री